प्रौढ र बालबालिकालाई थप ६ करोड मात्रा खोप ल्याउने सरकारको तयारी



नेपालले कोरोनाविरुद्धको खोप लगाउने अभियान अन्तर्गत हालसम्म १ करोड २५ लाख मात्रा खोप प्राप्त गरिसकेपछि पुनः १ करोड मात्रा आयात गर्ने भएको छ । सरकारले पछिल्लो समय प्रौढ र बालबालिकाका लागि थप १ करोड मात्रा खोप ल्याउने तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्षभित्रका बालबालिकाका लागि ४० लाख मोडेर्ना र ६० लाख फाइजर ल्याउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विश्व स्वास्थ्य संगठन क्षेत्रीय समितिको वार्षिक बैठकबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बालबालिकाका ल्याउन लागिएको ४० लाख मात्राको मोडेर्ना खोपको भुक्तानी भइसकेको र ६० लाख फाइजरको लागि भुक्तानी प्रक्रियामा रहेको जनाए ।
यसअघि ६० लाख चीनबाट भेरोसेल ल्याइएको भए पनि यो पटक भने दुवै खोप अमेरिकाका हु्न ।

सरकारले हालसम्म खोप लगाउने मापदण्डमा परेका मध्ये १६ प्रतिशत जनसंख्याले पूर्ण मात्राको खोप लगाएको जनाएको छ । मन्त्रालयले असोजको अन्त्यसम्म खोप लगाउने जनसंख्या ३३ प्रतिशत भन्दा बढी पु-याउने लक्ष्य लिए अनुसार हालसम्म ५१ लाख जनाले पूर्ण मात्राको खोप लगाएको जनाएको छ । यसैगरी साढे ५८ लाख जनाले पहिलो मात्राको खोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले असोज मसान्तसम्ममा एक तिहाइ जनसंख्यालाई खोप लगाउने लक्ष्य सहित खोप कार्यक्रम अघि बढेको बताए । सरकारले हाल विभिन्न विकास साझेदार तथा मित्रराष्ट्र गरी लगभग १ करोड २५ लाख मात्रा खोप प्राप्त गरिसकेको छ । यसमध्ये हालसम्म कोभिशिल्ड खोप ३१ लाख ९१ हजार ४२० प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ । यसरी प्राप्त गरेको कोभिसिल्ड मध्ये भारत सरकारबाट अनुदान प्राप्त ११ लाख र खरिद गरिएको १० लाख रहेको छ ।

यसैगरी हालै मात्र भुटानबाट २ लाख ३० हजार, जापानबाट कोभ्याक्स सुविधा अन्तर्गत १५ लाख १३ हजार ४२० र कोभ्याक्स सुविधा (गाभी)बाट अनुदान प्राप्त ३ लाख ४५ हजार रहेको छ ।

नेपालमा सुरुमा कोभिसिल्ड खोप प्रयोगमा आए पनि त्यसपछि चीनबाट अनुदान र खरिद गरी ५८ लाख भेरोसेल खोप खोप प्राप्त भएको मन्त्रालयको भनाइ छ । यसरी चीन सरकारबाट अनुदान प्राप्त १८ लाख र खरिद गरिएका ४० लाख रहेको छ । संयुक्त राज्य अमेरिकाबाट अनुदान प्राप्त एक मात्राको जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८५० रहेको छ ।

नेपालमा हाल १८ वर्षमाथिको खोपको लागि योग्य जम्मा जनसंख्या २ करोड २९ लाख १ हजार २५४ रहेको छ । हालसम्म १८ वर्ष उमेर समूह माथि पूर्ण खोप प्राप्त जनसंख्या प्रतिशत १६ रहेको छ । यसरी हेर्दा १८ वर्ष उमेर समूहमाथिको जम्मा जनसंख्यालाई आवश्यक जम्मा खोपको मात्रा ३ करोड ७५ लाख १२ हजार ८०८ रहेको देखिन्छ ।

कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउनेमा सार्क राष्ट्रमा नेपाल चौथो स्थानमा रहेको छ । भुटानमा पूर्ण रुपमा खोप पाएको ६१ प्रतिशत, माल्दिभ्स ५४ प्रतिशत, श्रीलंका १७ प्रतिशत र नेपाल १६ तथा आंशिक रुपमा खोप पाएको २० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्