आज कुशेऔंसी, घरघरमा कुश भित्र्याईंदै

काठमाडौं– आज कुशे औँसी । भदौ महिनामा पर्ने औँसीलाई कुशग्रहणी औँसी भनिन्छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।
आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । यो औँसीमा पितृको आत्मा तृप्तिका लागि गरिने धार्मिक कार्यमा कुशको प्रयोग गरिन्छ ।
यही कारणले यसलाई कुशेऔँसी भनिन्छ । औँसी तिथिको दिन व्रत राख्नाले र पूजा गर्नाले पितृ खुशी हुन्छन् भन्ने धार्मिक मान्यता छ । पितृ दोषबाट मुक्ति पाउनका लागि पितृको आत्मा तृप्ति हुनु आवश्यक छ ।
औँसीमा पितृ दोषबाट मुक्ति पाउनका लागि विभिन्न उपाय गरिन्छ ।
यो वर्षको औँसी तिथि, मुहूर्त र महत्वको बारेमा केही जानकारी
यो वर्ष कुशे औँसीको प्रारम्भ भदौ २१ गते बिहान ८:१० देखि प्रारम्भ भएको थियो । यसको समापन आज भदौ २२ गते बिहान ६:५० मिनेटमा हुँदैछ । स्नान र दान आदिका लागि उदय तिथि मान्य हुन्छ, त्यसैले कुशे औँसी मंगलवार मनाइँदैछ ।
महत्व
यो दिन पिठोले बनेका देवीदेवताको पूजा गर्नु पर्छ । महिलाहरु व्रत बस्ने र पुजा गर्छन् । यसबाहेक औँसीको दिन नदीमा स्नान गरेर दान दिनुको ठूलो महत्व रहेको छ । स्नानपछि पितृको तृप्तिका लागि पिण्डदान, तर्पण आदि कर्मकाण्ड गरिन्छ । आफ्ना पितृको जब खुशी हुन्छन्, तब व्यक्तिको परिवारमा सुख–शान्ति हुन्छ, जीवनमा विकास र समद्धि हुन्छ अनि वंशको वृद्धि हुन्छ भन्ने धार्मिक मान्इता छ ।

