पुँजीबजार : आन्दोलनमा उत्रिए लगानीकर्ताहरु,गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने प्रमुख माग



काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियोजित रूपमा पूँजीबजारलाई धरापमा पार्ने योजनामा लागेको भन्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

गभर्नर अधिकारीको राजीनामालाई मुख्य माग बनाई विभिन्न १५ बुँदे माग सहित आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा पूँजीबजार संघर्ष समिति नै गठन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले विभिन्न समयमा नियोजित रुपमा तयार गरिएको नीति तथा कार्यक्रमले पूँजीबजारलाई नै धरापमा पार्ने काम गरेको आरोप उनीहरुको छ ।
कोभिडको बीच पनि गति लिएको पूँजीबजारलाई नियोजित रुपमा तल झार्ने नीति ल्याएको भन्दै लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग गरेका हुन् ।

यस वर्षको मौद्रिक नीतिमा मार्जिक प्रकृतिको कर्जामा गरिएको रू. १२ करोडसम्मको सीमा समग्र पूँजीबजारको विकासमा बाधक बनेको भन्दै उक्त व्यवस्था तुरुन्त खारेज गर्नसमेत उनीहरुको माग छ । यस प्रकारको कर्जामा तोकिएको विद्यमान समयअवधि संशोधन गरी १२० दिनको औषत मूल्य कायम गर्नसमेत लगानीकर्ताहरुले माग गरेका छन् ।

बृहत आर्थिक चलखेल गरी साना लगानीकर्ताहरुलाई निरुत्साहित र बजारलाई बहिर्गमन गर्ने उदेश्यले ल्याउन लागिएको बुक बिल्डिङ्ग तत्काल खारेज गरी रू. १०० अंकित मूल्यमै आईपीओ जारी गर्ने व्यवस्था मिलाउनसमेत उनीहरुले माग गरेका छन् । लगानीकर्ताहरुले उठाएका १५ बुँदे मागभित्र ब्रोकर कमिसनलाई घटाएर शून्य दशमलव १० प्रतिशतमा झार्नेसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्