मन्जो सामुदायिक खानेपानी तथा अग्नि नियन्त्रण परियोजना उद्घाटन तथा हस्तान्तरण सम्पन्न

खगिन्द्रराज बाँस्तोला

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ मञ्जो र छुमा खानेपानी तथा अग्नि नियन्त्रण आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । खुम्बु आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा गाउँपालिकाले ७० लाख, चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको ३० लाख, हिमालयन ट्रष्ट नेपालको समन्वयमा (ल्याण्डरोभर न्यूजिल्याण्ड, स्लोभागएड, रेनहोल्ड, मेशनर माउन्टेन फाउण्डेशन) को ८९ लाख ५२ हजार चार सय ४० रुपैयाँ र स्थानीय श्रमदानबाट १० लाख ८४ हजार छ सय ९२ रुपैयाँ गरी कुल दुई करोड ४२ हजार चार सय बत्तिस रुपैयाँको लागतबाट सो आयोजना निर्माण कार्य सम्पन्न भएको निर्माण समितिका अध्यक्ष ङिमा तेन्जी शेर्पाले बताउनु भयो ।

उक्त आयोजनाबाट मन्जो, छुमा क्षेत्रका ६७ घरधुरीका दुई सय ७७ जना प्रत्यक्ष लाभान्वित भएका छन् । त्यसैगरी सार्वजनिक धाराका रुपमा युवावर्ष आधारभूत विद्यालय, सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार, उचेछोलिङ गुम्बामा निर्माण गरिएको हिमालयन ट्रष्ट नेपालका प्रमुख प्रशासकीय अधिकृत डाक्टर मिङ्मा नुर्बु शेर्पाले जानकारी दिनुभयो ।
खुम्बु पासाङल्यामु गाउँपालिकाभित्र भरच्युअल माध्यमबाट गरिएको यो आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रम पहिलो र ऐतिहासिक भएको पालिकाका कार्यवाहक अध्यक्ष टासुल्हामु शेर्पाको भनाई रहेको छ ।

नेपाल र भारतका लागि स्लोभाकियाका महामहिम राजदूत इमान लानसारिकको प्रम्ुख आतिथ्यता गाउँपालिका कार्यवाहक अध्यक्ष शेर्पा मिङमा छिरी शेर्पा, प्रवक्ता लाक्पा छिरी शेर्पाको विशेष आतिथ्यता, हिमालयन ट्रष्ट नेपालका अध्यक्ष पासाङ दावा शेर्पा प्रमुख प्रशासकीय अधिकृत मिङमा नुर्बु शेर्पाको उपस्थिति, सगरमाथा निकुञ्जका प्रतिनिधि, स्थानीय उपभोक्ताहरुको उपस्थितिमा सो भच्र्युअल तथा हस्तान्तरण सम्पन्न भएको हो । मन्जु तथा छुमा क्षेत्रमा सो आयोजना सञ्चालनमा आएपछि यहाँका स्थानीयहरु शुद्ध खानेपानी उपभोग गर्न पाइने र आफ्नो गाउँ ठाउँमा कुनै पनि भइपरी आउने घटना नियन्त्रणमा अग्नि नियन्त्रण आयोजनाले सहयोग पु¥याउने भन्दै हर्षित बनेका छन् ।

