बैकल्पिक बिधिमार्फत प्रभावकारी कक्षा सन्चालन गर्न विद्यालयहरुलाई नेचासल्यानको निर्देशन



सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँपालिकाले कोरोना भाईरसको दोश्रो भेरिएन्टका कारण लामो समयदेखि अवरुद्ध बनेको विद्यालय शिक्षालाई प्रभावकारी सन्चालनका लागि बिद्यालय प्रशासनलाई निर्देशन दिएको छ।

गाउँपालिका भित्रका सबै बिद्यालयका प्रधानाध्यापकहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुको पढ्न पाउने अधिकार प्रत्याभूत गर्न शिक्षकहरुले सक्रियतापूर्बक आफ्नो दायित्व निर्बाह गर्नुपर्ने निष्कर्षसहित सो निर्देशन दिएको गाउँपालिका शिक्षा समितिले जनाएको छ।

गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सोमबार सम्पन्न अन्तरक्रियामा भौतिक उपस्थितिमा विद्यालय सन्चालनको अवस्था नरहेको यो विषम परिष्थितिमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित प्रभावकारी सिकाईका सबै विकल्पहरुको प्रयोग गरि विद्यार्थीहरुको क्षमता अभिबृद्दी गर्न सरोकारवालाहरु सहमत भएका छन् ।गाउँपालिका अध्यक्ष बास्तोलाका अनुसार तत्कालका लागि कक्षा १ देखि ५ सम्म पाठ्यपुस्तक, ५ देखि १० सम्म पीडी एजुकेशनबाट तयार गरिएको अफलाईन सामाग्री र ११ र १२ का बिद्यार्थीलाई तत्काल अनलाइन कक्षा सन्चालन गर्न निर्देशन दिइएको छ।

उल्लेखित सबै सिकाईका लागि गाउँपालिकामा सबै किसिमका पूर्बाधार तयार रहेको अध्यक्ष बांस्तोलाको भनाई छ।कक्षा १(५ सम्म रिड नेपालले तयार गरेको पाठ्यसामग्रीसहित सम्पूर्ण विद्यार्थीहरुलाई यसअघि नै सबै तहका पाठ्यपुस्तकहरु बितरण गरिएको र अनलाइन कक्षाका लागि विद्यालयहरुले नेपाल टेलिकमको ऋल्न् सीम विद्यार्थीहरुलाई निस्शुल्क उपलब्ध गराईसकेको अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो । अध्ययनलाई सहजीकरण गर्नका लागि उपलब्ध गराईएको सो सीममा निस्शुल्क डाटा र टकटाईम भएका कारण विद्यार्थीहरुलाई अनलाइन कक्षा लिन र नबुझेको कुरा शिक्षकहरुसंग बुझ्नका लागि सहज हुने वहाँले बताउनुभयो।

गाउँपालिकाले बैकल्पिक सिकाईमा विद्यार्थीहरुको सहजताका लागि काठमाडौंमा रहेको पीडी स्मार्ट एजुकेसनसंग सम्झौता गरेको पनि वहाँले बताउंनुभयो।हरेक कक्षाका सबै पाठ्यसामग्रीहरुको श्रब्यदृश्य उत्पादन गरेको सो शैक्षिक संस्थाले बिद्यार्थीहरुको सिकाईका बिषयमा गाउंपालिकामै पुगेर हरेक बिद्यालयका प्रधानध्यापकसहित अर्को एकजना शिक्षकलाई तालिम उपलब्ध गराएको छ।तालिम लिएका ती शिक्षकले आफ्ना स्टाफ र स्टाफहरुले विद्यार्थीहरुलाई उक्त प्रबिधिबारे जानकारी गराउनुपर्ने छ। नेट नभए पनि एन्ड्रोयड मोबाईल हुने बिद्यार्थीहरुले सहज रुपमा अफलाइन कक्षा लिन सक्ने वहाँले जानकारी दिनुभयो ।

पराम्परागत सिकाईबाट विद्यार्थीहरुलाई प्रबिधिसंग जोड्ने लक्ष्य लिएको सो गाउँपालिकाले पालिका भित्रका ३५ वटै विद्यालयमा ईन्टरनेट जडान गरिसकेको छ। कम्प्युटर ब्यबस्थापन गर्न बांकी १८ वटा बिद्यालयमा पनि यही भदौभित्र जडान गरिसक्ने योजनामा गाउँपालिका छ।यद्यपि प्रबिधिमा पहुँच नहुने विद्यार्थीहरुलाई रिड नेपालको सहयोगमा सोलु र हिमाल एफएमबाट सन्चालित विद्यालय कक्षासंग जोडिन र अन्य बैकल्पिक बिधि अपनाएर पनि विद्यार्थीहरुलाई पढाईप्रति उत्प्रेरित गर्न शिक्षकहरुलाई परिचालन गर्न पनि गाउँपालिकाले बिद्यालय प्रशासनलाई निर्देशन दिएको छ।

बिद्यार्थीहरुको सिकाई प्रभावकारिताको मूल्यांकनका लागि शिक्षकहरुले बार अनुसार कक्षा छनौट गरी विद्यार्थीलाई बिद्यालयमा बोलाउने,अभिभावकसंगको अन्तरक्रियाका लागि टोल वा घर पुग्नुपर्ने,र सबै शिक्षकहरुको उपस्थितमा दैनिक प्रशासन सन्चालन गर्नुपर्ने गाउँपालिकाको निर्देशनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्