विमल झाका मुक्तहरु



१. श्रृङ्गार रस – (स्थाई भाव रति)
हामी दुई – एकान्त स्थल अनि बढ्दो श्वास कसरी भुलुँ म
चढ्दो यौवन–अतृप्त मन र अतृप्त प्यास कसरी भुलुँ म
त्यो पल–ति क्षण जसमा तिमी म अनि म तिमी भएथ्यौँ
आपस बिचको अटुट विश्वास र समर्पण खास कसरी भुलुँ म ।।

२. श्रृङ्गार रस – (स्थाई भाव रति)
मनमा छाप अमिट छ, संगै बिताएका अनमोल क्षण ति अतितको
परिपुरक बनेर एक अर्काको, चुम्दा अधर ति कम्पितको
सायद चितामा मात्र देह संगै, खरानी होला सम्झना
भुली सारा संसार बिताउँदा पल, भएको मन तरङ्गीतको ।।

रौद्र रस – १ (स्थाई भाव क्रोध)
सम्भव भए कसैले यस्तो यन्त्र बनाओस्
राखी जसमा मलाई भूतकालमा पु¥याओस्
उपाय त्यस्तो गरीदिन्थेँ म गई त्यहाँ
जसले यी धुर्तहरू उम्रने बीउ कुहाओस् ।।

रौद्र रस – २ (स्थाई भाव क्रोध)
कपाल समाती घिसारी जमिनमा लतार्न मन लाग्छ
जुरूक्क बोकी बेस्सरी तल पछार्न मन लाग्छ
अचेलका स्वघोषित श्री ६ हरूको पारा देख्नु पर्दा
काँडै काँडाको सिंहासन बनाई, थचार्न मन लाग्छ ।।

वीर रस – १ (स्थाई भाव उत्साह)
हठी भन, जिद्दी भन या घमण्डी, म यस्तै अनौठो चिज हुँ
तिम्रो कल्पना अनि पहुँच भन्दा परको अप्राप्य क्षितिज हुँ
नसोच्नु ढल्यो, अब उठ्दैन, र हार स्विकार्छ तिम्रो प्रहारले
झरेको थोपा थोपा रगतबाट फेरि ब्युँतने रक्तबिज हुँ ।।

वीर रस – १ (स्थाई भाव उत्साह)
अस्तित्व संकटमा पर्ने गरि जब खप्नुपर्छ मार
देखाउनु पर्दैन कसैले, त्यहां आफ्नो सदाचार
लड्नु परे नहिच्किचाऔं त्यहाँ लड्न अन्तिम युद्ध
अघि बढौं मुल मन्त्र एउटै जप्दै “जुटे जित, फुटे हार“ ।।

वीभत्स रस १ – (स्थाई भाव घृणा)
अन्याय प्रतिको बिरूद्धता ओझेलमा पर्छ
अनि प्रवुद्धको प्रवुद्धता ओझेलमा पर्छ
जब प्रवचन दिन थाल्छ समाजमा पैसाले
तब व्याकरणीय शुद्धता ओझेलमा पर्छ ।।

वीभत्स रस २ – (स्थाई भाव घृणा)
समाचार पढ्छु,नकारात्मकता अधिक देख्छु, दिक्दार लाग्छ
संगठीत अपराध बिरूद्ध मौन सरकार आफैमा लाचार लाग्छ
हत्या हिंसा लुटपाट बलात्कार अझै भैरहेको यो समाजमा
बिरोधमा उठ्न नसकेको आफ्नै उपस्थिति बेकार लाग्छ ।।

हास्य रस – १ (स्थाई भाव हास)
हिजो सम्म केवल तिम्रै हुँ भन्थिन् आज अर्कैसंग हिँडिन्
टाढिने बहानाकै निमित्त अनेकौं मिथ्या कुरा कहिन्
तड्पिएँ , रोएँ, आँशु बहाई बटुलें पुरै एक बाल्टिन भयो
देखेर यो उनी आईन् अनि आफ्नो कपाल नुहाई फर्किन्।।

हास्य रस – २ (स्थाई भाव हास)
ति तिल झैं कपाल बिच बिचमा चामलले आफ्नो रङ्ग घोली सक्यो
गालाको बत्तिस मुजाले बुढ्यौली आयो भनी बोली सक्यो
चाहे रङ्गाउ कपाल या तन्काउ त्यो चाउरिएको गाला
“कथा भन्नु न बा“ भन्ने नातीले उमेरको पोल खोली सक्यो ।।

करुण रस – १ (स्थाई भाव शोक)
मुखाग्नी दिई फर्कनेको हिया कति मात्र चर्कन्छ होला
बियोगले आहत भै नयनबाट कति अश्रु दर्कन्छ होला
बिछोडको बेदना एकातिर, व्यवहारको भार अर्को तिर
खै कुन कस्तो साहसले त्यो घाईते घाटबाट घर फर्कन्छ होला ??

करुण रस – २ (स्थाई भाव शोक)
तिमी अनि म जस्तै कहिले नभेटिने खोलाको दुई तीर छँदैछ
कहेर नसकिने सहेर नसकिने हाम्रो अन्त्यहिन पीर छँदैछ
संगै बसी काँधमा शिर बिसाई रुने मौका सायद नजुराउला भाग्यले
बह पोख्न मेरो तिमी संग अनि तिम्रो म संग तस्बिर छँदैछ।।

अद्भुत रस – १ (स्थाई भाव आश्चर्य)
लामो पर्खाई पछि प्रतिक्षाको क्षण रेटियो
अतृप्त चाहना मन भित्रको त्यहि पल मेटियो
चाहने तिमीलाई सायद हजारौं होलान् आज
तर सच्चा प्रेमी आज ऐना अगाडि भेटियो ।।

अद्भुत रस – २ (स्थाई भाव आश्चर्य)
कहिले “एक’ शरीर’ दुई’ टाउको“ झैं मिली टोपल्छन् अचम्म छ
कहिले के पो खुट्याउँ दोष भनिकन खोतल्छन्, अचम्म छ
“भाइ’ फुटे गँवार’ लुटे“ भन्ने भुली मर्न मार्न तयार कहिले
कहिले सात’ जन्मको शत्रुलाई झैं बिष’ ओकल्छन् अचम्म छ ।।

भयानक रस – १ (स्थाई भाव भय)
सन्त्रास छ कतै महामारी कतै बाढी र कतै भू–क्षयको
बाँच्नु परेको छ मानवजातीलाई बसी घेरा बिच भयको
हेर! प्रकृतिलाई आफ्नो वशमा राख्ने चाहना राख्दा राख्दै
आज परिबन्धवश हार्न पुग्यो आफै नै खेलमा समयको ।।

भयानक रस – २ (स्थाई भाव भय)
कतै बिरामीको भिड त कतै जल्न पालो पर्खी बसेको लास छ
कतै “बेला यही नै हो, कमाउने“ भन्नेको चलखेलले अत्यास छ
अदृष्य शत्रुको ताण्डव र अकर्मण्यताको मार छ भने कतै
कतै एक भाँडो प्राणवायु मात्रको पर्खाईमा अनेकौं मन हतास छ ।।

शांत रस – १ (स्थाई भाव निर्वेद)
भन्न सक्दिन सारा भेद खोली के के गर्न सक्थें म
चढ्थें उकाला अत्यास लाग्दो ओराली झर्न सक्थें म
सहयात्रीको आत्मीय साथ हुन्थ्यो मात्र यदि भने
कागजकै डुङ्गामा चढेर समुद्र तर्न सक्थें म ।।

शांत रस – २ (स्थाई भाव निर्वेद)
हो! बुझि सकेको छु सबै मैले र त मन मारेर जानेछु
अनि बर्षातमा निथ्रुक्क रुझी रुझी आँशु झारेर जानेछु
आउ! एक पटक फेरि तिम्रै पुरानो बाजी खेलौं न त हामी
तिमी झेल गर्दै जानु र म जानी जानी खेल हारेर जानेछु ।।

प्रतिक्रिया दिनुहोस्