सगरमाथा राष्ट्रिय निकुञ्जको ४५ औं बार्षिकोत्सव सम्पन्न



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले आफ्नो स्थापना कालको ४५ औं वार्षिक दिवस मनाएको छ ।

निकुञ्ज कार्यालय नाम्चे, सोलुखुम्बुमा मनाइएको स्थापना दिवस कार्यक्रममा खुम्बु क्षेत्रमा रहेर निकुञ्ज लगायत विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउने व्यक्तित्व हरुलाई नगद सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो भने निकुञ्ज कार्यालयले वार्षिक रूपमा सम्पादन गरेका कार्यहरुको प्रगति विवरण, जिम्मेवार पक्षले खेल्नुपर्ने भूमिका, निकुञ्जको संरक्षण र सम्बर्द्धनमा पुर्याउने टेवाको विषयमा छ्लफल भएको थियो ।

निकुञ्ज कार्यालयले निकुञ्जका क्षेत्रभित्र कार्य गरी निकुञ्जको संरक्षण र सम्बर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नुहुने ५ जना कर्मचारी, १ शिक्षक र १ ओटा उपभोक्ता समितिलाई नगद सहित सम्मानपत्रले सम्मानित गरिएको थियोे ।

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको विशेष आतिथ्यता, खुम्बु पासाङल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष मिङमाछिरी शेर्पाको प्रमुख आतिथ्यता र निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको सभापतित्वमा सम्पन्न ४५ औं स्थापना दिवस कार्यक्रममा चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पा, खुम्बिला मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष छिमीछिरिङ शेर्पा, सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष आङदोर्जी शेर्पा, उपाध्यक्ष लामाकाजी शेर्पा, खुम्बु क्षेत्र कर्मचारी मिलन केन्द्रका अध्यक्ष ललन यादव, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी ५ का अध्यक्ष छिरिङ पेन्जो शेर्पाको समेत विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा रणशुर गुल्म नाम्चेका गुल्मपति, इप्रका नाम्चेका प्रहरी प्रमुख, स्थानीय सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,मध्यवर्ती क्षेत्र उपभोक्ता समूह, सामूदायिक वन उपभोक्ता समूह, महिला समूह, युवा समूह, निकुञ्जका कर्मचारी लगायत अन्य सरोकारवाला समेतको उपस्थिति थियो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना २०३२ साल साउन ४ गते भएको थियो । निकुञ्ज कार्यालयले हरेक वर्ष साउन ४ गते आफ्नो स्थापना दिवस मनाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्