सौरभ कारञ्जितका मुक्तकहरु



मुक्तक ~ १ शृंगार रस – (भाव रति)
तिम्रो माया र साथ जीवनभर पाउने मन छ
संसार भुलेर तिमीसँगै माया लाउने मन छ
सुललित शब्दबाट गीतमा ढालेर तिमीलाई
आफ्नै ओँठमा सजाउँदै सधैं नै गाउने मन छ ।।

मुक्तक ~ २ शृंगार रस – (भाव रति)
अव्यक्त भाव तिम्रो स्पर्शले बोकेको औधी मनपर्छ
फगत इशाराले मेरो बाटो रोकेको औधी मनपर्छ
नशालु नयनमा बेहोश पार्ने नशा लिएर तिमीले
मुखले केही नबोलेरै ओँठ टोकेको औधी मनपर्छ ।।

 

मुक्तक ~ १ रौद्र रस – (भाव क्रोध)
कुर्सीकै निम्ति मनपरी गरे हटाउँछन् जनताले
अति नै गरे सडकमै समाई ठटाउँछन् जनताले
सावधान नेता! नसुध्रे तिम्रो त्यो कुटिल स्वभाव
भोट माग्न जाँदा नौ डाँडा पारी कटाउँछन् जनताले ।।

मुक्तक ~ २ रौद्र रस – (भाव क्रोध)
जान्दैन नाँच्न आँगन टेंढो कतिन्जेल भन्ने हो
आफैं नै बोक्सी आँफैं नै झाँक्री कतिन्जेल बन्ने हो
शरीरमा आफ्नो बिशाल भैंसी नदेख्ने हे मुर्ख !
अरुको भने शरीरको जुम्रा कतिन्जेल गन्ने हो ??

 

मुक्तक ~ १ वीर रस – (भाव उत्साह)
तिमीले देखाएको बाटो, मैले बिर्सेको छैन
तिम्रो घाउ र त्यसको खाटो, मैले बिर्सेको छैन
बिदेशी भूमि त केवल, मेरो कर्मस्थल मात्रै हो
नेपाल आमा! तिम्रो माटो, मैले बिर्सेको छैन ।।

मुक्तक ~ २ वीर रस – (भाव उत्साह)
प्रार्थना छ! घात नहोस् अब नेपाल र नेपालीको विश्वास माथि
कामना छ! राजनिति नगरियोस् कसैको गाँस-बास-कपास माथि
एकै पटकको यो जीवन देशकै लागि काम आए सौभाग्य हुन्थ्यो
चाहना छ! मरेपछि मेरो देशको झण्डा होस् मेरो लास माथि ।।

 

मुक्तक ~ १ वीभत्स रस – (भाव घृणा)
अर्काकै भरमा बाँच्नेको मनभरी हुन्छ आस मात्र
खुशी नहेरी समस्या बोकेर उस्को चल्छ सास मात्र
सद्दे देखिने दुई खुट्टामै उभिएर कहिले हिंड्ने .. ?
अरुकै काँधमा चढेर त केवल हिंड्छ लास मात्र ।।

मुक्तक ~ २ वीभत्स रस – (भाव घृणा)
बानी र ब्यहोरा चाहिं दानवकै केवल मानवको भेष हो
बलात्कारी सन्तान हुनुभन्दा निसन्तान हुनु नै बेस हो
बिना न्याय नै पीडितको पीडा भने बाहिर आउँछ
नरपिचास भने स्वतन्त्रै घुम्ने कस्तो यो हाम्रो देश हो ??

 

मुक्तक ~ १ हाँस्य रस – (भाव हाँस्य)
नाम चलेको ज्योतिषकोमा लगे बिमल झा’ले
ठुलो मान्छे बन्छौ बाबु ! भने ज्योतिष बा’ले
ज्योतिष बा’ले बोल्या कुरो खेर जान्छ कतै ?
त्यसैले त बन्या छु म ‘ह्वाइट्-हाउस’को पाले ।।

 

मुक्तक ~ २ हाँस्य रस – (भाव हाँस्य)
लुकाएर आफ्ना आँसु रुने मान्छे हुँँ म
उट्पट्याङ्गे ‘विश्व रेकड्’ छुने मान्छे हुँँ म
अरुसँग भिंड्दैमा के ठुलो कुरो हुनु ..?
एक्लै खेल्दै आफैं “प्रथम” हुने मान्छे हुँँ म ।।

मुक्तक ~ १ करुण रस – (भाव शोक)
जीवन यो पाएको छु कस्तो अनि के’खाले
असह्य पीडा दियो भाबीको यो लेखाले
कता ~ कता लाग्दैछ धेरै बाँचिन्नँ होला
धेरै बाँच्छस् भने नि हातका यी रेखाले ।।

मुक्तक ~ २ करुण रस – (भाव शोक)
थिलो – थिलो पार्ने दुखाइले म पाकिसकेको छु
थाम्नै गाह्रो पीडाका बोझले म थाकिसकेको छु
एउटै जीवनको हरेक क्षण मर्न नसकेरै होला
बरु एकै पटकको मृत्यु मैले डाकिसकेको छु ।।

मुक्तक ~ १ अद्भुत रस – (भाव आश्चर्य)
घाउ दिनेले आफैं भन्यो, घाउ त्यो सिएर देखाउ
बिषको प्याला दिंदै भन्यो, लाउ यो पिएर देखाउ
उसको लागि मर्न सक्छु, र त! पिएँ मैले प्याला
मर्न लाग्दा हाँस्दै भन्यो .. जाउ भो जिएर देखाउ ।।

मुक्तक ~ २ अद्भुत रस – (भाव आश्चर्य)
कतै आँसु कतै हाँसो … दिने यौटै प्रहर हुन्छ
सुखको छ कतै सागर …कतै ढुंगे बगर हुन्छ
मन्दिरभित्र पुगेकै क्षण …देउता हुन्छ पत्थर भने
सधैं मन्दिर धाए पनि … मान्छे किन पत्थर हुन्छ ??

मुक्तक ~ १ भयानक रस – (भाव भय)
बाकसमा फर्किने गरी परदेश टेक्न नपरोस्
शत्रुले नै समेत त्यस्तो दुर्दशा झेल्न नपरोस्
साँच्चै तिमी छौ नै भने, यो बिन्ति छ सुन प्रभु!
अब कैल्यै यस्ता भावमा ‘मुक्तक’ नै लेख्न नपरोस् ।।

मुक्तक ~ २ भयानक रस – (भाव भय)
परदेशको झैं घरदेशको पनि प्रगति हेर्ने रहर लागेको छ
आफु बनेर देश बिगार्नेलाई ‘नेता’ मान्न कर लागेको छ
‘नयाँ नेपाल’ बनाउँछौं भन्दै सबै ~ सबै बिगार्नेहरुले
नेपाल,’नेपाल’ नै रहन नदिने हो कि भन्ने डर लागेको छ ।।

मुक्तक ~ १ शांत रस – (भाव निर्वेद)
लोभ, क्रोध अनि ईर्ष्यालाई जित्ने मान्छे बुद्ध हुन्छ
सधैं कु-भाव बोक्दै गरे ढिलो चाँडो युद्ध हुन्छ
पीडा – बाधा पर्दा खेरि यो मन शान्त पार्न सके
खोला हैन तलाउको पानी झैं मन शुद्ध हुन्छ ।।

मुक्तक ~ २ शांत रस – (भाव निर्वेद)
नौलो संसार नवीन विचार, जीवनशैली भिन्न पनि
तन फुरुङ्ग हुँदै गर्दा, मन भै’दिन्छ खिन्न पनि
टाढा पुग्दा मनै रुन्छ ~ सोच्छ केही र चुप हुन्छ
टाढा पुग्नै पर्दो’रैछ, नजिक को छ चिन्न पनि ।।

प्रतिक्रिया दिनुहोस्