जनप्रतिनिधिका चारवर्षः नेचासल्यानको विकासमा उल्लेख्य प्रगति (हेनुस् विवरण)



सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकामा जनप्रतिनिधिहरुले कार्यभार सम्हालेयताका चार वर्षे अवधिमा आर्थिक तथा पूर्वाधार विकासमा उल्लेख्य प्रगति हाँसिल गरेको पाइएको छ । पूर्वाधार विकासमा अत्यन्तै कमजोर नेचासल्यान गाउँपालिकाभित्र यस अवधिमा साना ठूला गरी ४० वटा सडक निर्माण भएका छन् । २१० किलोमिटर लम्बाइ रहेका ती सडकमध्ये ५० किलोमिटर सडकको स्तरोन्नति भएको गाउँपालिकाले जनाएको छ । यस्तै गरी गाउँपालिकाको आर्थिक, सामाजिक, सुशासन तथा संस्थागत विकासमा समेत गाउँपालिकाले निकै फड्को मारेको देखिएको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएर स्थानीय पदाधिकारीले सपथ ग्रहण गरेको दिन असार १९ गते औपचारिक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाले विगत ४ वर्षे समयावधिको प्रगति समिक्षा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको प्रगति विवरण अनुसार प्रादेशिक तथा स्थानीय सडक निर्माण एवं सुधार कार्यक्रम अन्तर्गत गाउँपालिका–सदरमुकाम सडक कालोपत्रेको सम्झौता सम्पन्न भएको उल्लेख छ । यसैगरी यस अवधिमा खहरे खोला सडक, ठाडो खोला सडक, मोटरेवल पुल सम्पन्न भएको छ भने चुर्पुघाट र खहरे खोला नालाघाट सडक मोटर पुल निर्माणाधीन अवस्थामा छन् । यस बीचमा ठूल्ढुंगा घाटमा ह्युम पाइप बिच्छ्याउने काम भएको छ भने ठाडो खोला झोलुङ्गे निर्माण सम्पन्न भएको छ । उता खहरे खोला जिब्ली घाटमा झोलुङ्गे पुल निर्माण प्रक्रियामा रहेको जनाइएको छ । ५ वटा पाइप कल्भर्ट निर्माण र १० वटा कजवे निर्माण भएको निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
पूर्वाधार विकासकै क्रममा नेचासल्यान गाउँपालिकाले यसबीचमा उल्लेख्य प्रगति गरेको छ । वर्षौंदेखि अलपत्र तुइनटार लघु जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी करीव ८ सय घरधुरीलाई विद्युत वितरण गरिएको छ भने राष्ट्रिय प्रशारण लाइन जोड्नका निम्ति द्रूतत्तर रुपमा कार्य जारी रहेको छ ।
सामाजिक विकास अन्तर्गत शिक्षा क्षेत्रको सुधारका लागि नेचासल्यान गाउँपालिकाले चालेको कदमलाई स्थानीयले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हाले यता शिक्षालाई प्रविधिमैत्री बनाउनेतर्फ यथेष्ठ पहल भएको सार्वजनिक गरिएको तथ्यांकले नै स्पष्ट पारेको छ । प्रविधिमैत्री विद्यालय निर्माणका लागि यसबीचमा ३५ वटा विद्यालयमा इन्टरनेटको व्यवस्था गरिएको छ भने १५ वटा विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । नेचासल्यानका १३ वटा विद्यालयमा कम्प्युटरको व्यवस्था, ६ वटा विद्यालयमा विज्ञान प्रयोगशाला, ६ वटा विद्यालयमा इ–पुस्तकालाय, ६ वटा विद्यालयमा पुस्तकालय र १ वटा विद्यालयमा स्मार्ट बोर्ड, स्मार्ट टिभीको व्यवस्था गरिएको छ । यही अवधिबाट गाउँपालिकामा एउटा प्राविधिक विद्यालय र नमूना विद्यालय समेत सञ्चालनमा आएको छ । गाउँपालिकाका अनुसार विद्यालयको भौतिक विकास अन्तर्गत यस अवधिमा ४० वटा विद्यालय भवन निर्माण, १२३ वटा कक्षाकोठा, ५ वटा विद्यालयमा घेराबारा, १० वटा विद्यालयमा खानेपानीको व्यवस्था, २५ वटा विद्यालयमा शौचालय निर्माण र ३१ वटा बाल कक्षा व्यवस्थापन गरिएको छ ।
कस्तो छ, गाउँपालिकाको चार वर्षे प्रगति विवरण (हेर्नुस् सूची)

4 Year Samiksha
प्रतिक्रिया दिनुहोस्