दुर्गा प्रसाद पोखरेलको मुक्तकहरु



१. अद्भूत रसः
सुख्खा मस्तिष्कले हृदय नाप्न खोज्छन्
सुखको रसलाई अक्षरमा छाप्न खोज्छन्
कसरी सम्झाउँ खै भ्रमित भएको छ दृष्टि
म आगो होइन मान्छेहरू ताप्न खोज्छन् ।

२.अद्भूत रसः
म यात्रामा छु, यात्रा आफैं मेरो उत्साहमा छाइरहेछ
म बाटोमा छु र दोबाटो दौडिएर मसँगै धाइरहेछ
यस्तो लाग्छ म स्वयं नै कसैको गन्तव्य हूँ शायद–
त्यसैले म गन्तव्यतिर होइन, ऊ स्वयं मतिर आइरहेछ ।

१. वीर रसः
म यो बिकटतालाई पैतालाले टेक्न चाहन्छु
सारा अवरोधहरू हत्केलाले छेक्न चाहन्छु
परचक्रीहरूको छायाँ टिक्दैन अब धेरै दिन
म नेपालको परावलम्बी रात फेक्न चाहन्छु ।

२. वीर रसः
इतिहास गाएर कम्मर भाँच्नुको के अर्थ
स्वाभिमानहीन सपना साँच्नुको के अर्थ
गोर्खेहरू! सिरुपाते खुकुरी बोकेका त छौ
शत्रु खुलेयाम कुल्चन्छन् बाँच्नुको के अर्थ ?

१. भयानक रसः
निशाचरहरू रातमा फुट्छन्
भलो काम परे पातमा चुट्छन्
कसैको कुभलो गर्नु छ भरे–
पिशाचहरू घातमा जुट्छन् ।

२. भयानक रसः
देश जलाएर उ मजाले आगो ताप्दैछ
पारीको घरज्वाइँ आएर नेपाल नाप्दैछ
देखेर यी नौटङ्की बोर्डर बोर्डरमा
घरमा स्वाभिमान थर्थरी काँप्दैछ ।।

१. वीभत्स रसः
चन्द्र सूर्य भुलेका ती चिसो छिँडी होइनन्
तिमी खालि माथि पुग्ने भर्याङ्का सिँढी होइनन्
गौरवले उठेको छ तिनीहरूको शिर हेर
जनता तिमीले सल्काएको चुरोट बिँडी होइनन् ।।

२. वीभत्स रसः
अज्ञानताको जेलभित्र छ जिन्दगी फेरि अर्को जेल नै किन चाहियो ?
मुसो बिरालोको चलेको छ लुँछाचुँडी फेरि अर्को खेल नै किन चाहियो ?
हावा र पानी मात्र कहाँ, आशा सपना सबै छन् प्रदूषित–
भर्भराएर बलेकै छ आक्रोशको आगो फेरि अर्को तेल नै किन चाहियो ?

१. हास्य रसः
मध्यरात्रिमा नै आफ्नो मन्त्रालय खानु भो
न्याय किनेर आफैंलाई न्यायालय लानु भो
जाबो देश चलाउने त हो नि, त्यो पर्दैन
महत्वपूर्ण त ए हजुर शौचालय जानु भो ?

२. हास्य रसः
हल्लिरहने कुर्सी ढुक्कले थामियो जनाए कसो होला ?
तलब भत्तामा खाडीको रगत पसिना खनाए कसो होला ?
नपाउने केहीलाई सौताको छोरा किन बनाउँछौ यार
थपथाप गरेर ६०१ लाई नै मन्त्री बनाए कसो होला ?

१. करुण रसः
’चल्नै नसक्ने मूढो भएँ ’
’आफैं लूढैं लूढो भएँ’
यसरी नघोच आफूलाई–
’म हेर्दा हेर्दै बूढो भएँ ’ ।

२. करुण रसः
अहो ! कोही डराएर भागिरहेछन्
बरै ! कोही कराएर मागिरहेछन्
के आहत के राहत जीवन नै मर्माहत छ
अझै कोही थर्थराएर जागिरहेछन् ।।

१. शान्त रसः
हर तृष्णामा कुनै विलास छैन Þ
व्यग्र जवानीमा मिठास छैन
क्षणभंगुरताले भिजेपछि सबथोक
जीवन सधैं एकनास छैन ।

२. शान्त रसः
जहाँ कामनाको उद्वेग छैन र मन स्थिर छ
जहाँ उट्पट्यांग छाँट छैन र मन धीर छ
तानातान रहोस् बाहिर शान्ति भए भित्र–
कंक्रिटमा कहाँ छ, त्यहाँ पो मन्दिर छ ।

१.श्रृंगार रसः
वैरागी नभनूँ कि राग सकिएको छैन
अझै कविताको माग सकिएको छैन
मन अझै भावुक बन्छ चुलबुल छ
फूलले कोपेको दाग सकिएको छैन ।

२.श्रृंगार रसः
सधै भाव सुगन्धको टक्रिरहोस् प्रिये
जीवन यिनै गुलाब जस्तै फक्रिरहोस् प्रिये
तिम्रो मनले मेरो मनलाई पक्रिरहे जस्तै
मेरो दिलले तिम्रो दिललाई पक्रिरहोस् प्रिये !

१.रौद्र रसः
केही काम नपाए बरू माखा पोले हुन्छ
निद्रामै होस् सपनाको आँखा बोले हुन्छ
केजरीवालकै भएपनि सिको गर बरु
नेपालमा एउटा उसकै शाखा खोले हुन्छ ।।

२.रौद्र रसः
जसले पनि त बलेको आगो ताप्छ
आगो नताप्ने मूर्ख आफै थर्थरी काप्छ
आ आफै ठूला छौ तिमी मूलाहरू
मिटर लिएर तिमीलाई कसले नाप्छ ?

 

प्रतिक्रिया दिनुहोस्