खोटाङ : नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षबीच कुर्सी हानाहान



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यापालिका बैठकमा वडाध्यक्षहरुबीच कुर्सी हानाहान भएको छ । नगर प्रमुख दीपनारायण रिजालले अदृष्य तरिकाले खर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको भन्दै बैठकमा विवाद भएपछि वडाध्यक्षहरुबीच झडप भएको हो ।

वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष निर्मल राई र वडा नम्बर ८ बुवालुङका वडाध्यक्ष लीला चौहानबीच कुर्सी हानाहान भएको हो । बिना शीर्षकको बजेट विनियोजन भएको भन्दै बैठकमा विवाद हुँदा कुर्सी हानाहान भएको लफ्याङका वडाअध्यक्ष राईले बताए ।

आर्थिक वर्ष २०७८/७९को बजेट तथा कार्यक्रममा नगरप्रमुख रिजालले चार करोड ३१ लाख बजेट शीर्षक बिनै अदृष्य तरिकाले खर्च गर्न पाउने गरी विनियोजन गरेपछि मंगलबारको नगर कार्यपालिकाको बैठक वडाध्यक्षहरुले बाहिस्कार समेत गरेका छन् ।

नगरप्रमुख रिजालले आर्थिक वर्ष २०७८/७९ का लागि ८५ करोड आठ लाख ६२ हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन् । यसमध्ये चार करोड ३१ लाख भने अदृष्य तरिकाले खर्च गर्ने गरी विनियोजन गरेको भन्दै आफूहरुले विरोध जनाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाअध्यक्ष विकाश राईले बताए । ‘पारदर्शी तयारीकाबाट बजेट विनियोजन गर्नु पर्नेमा अदृष्य हिसाबले बजेट विनियोजनको प्रक्रिया बढाइएकाले विरोध जनाइएको हो,’ राईले भने,‘अब नगरप्रमुख कसरी अघि बढ्नु हुन्छ हामी पनि त्यसै आधारमा गतिविधि बढाउँछौं ।’ नगरप्रमुख रिजालले भने समस्या समाधन गरेर लैजाने बताए ।

बिहीबार नगरपालिकाले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । १५ वटा वडा रहेको यो नगरपालिकमा ७३ जना नगरसभा सदस्य छन् । तीमध्ये एमालेका ३६ र कांग्रेस, माओवादी र जनता समाजवादीका ३७ नगर सदस्य छन् ।

कान्तिपुरबाट साभार

प्रतिक्रिया दिनुहोस्