फेरि ७ दिन थपियो सोलुखुम्बुमा निषेधाज्ञा



सोलुखुम्बु । सोलुखुम्बुमा निषेधाज्ञा अवधि फेरि पनि ७ दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सोमबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले निषेधाज्ञा अवधि आउँदो असार १४ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैंक तथा वित्तिय संस्था, विकासे योजना कार्यान्वयन र भुक्तानीको काम गर्ने कार्यालय खोलिने छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खाद्यान्न, तरकारी पसल, मासु पसल लगायतका पसल स्वास्थ्य सुरक्षा बिधि अपनाएर खोल्न पाउने निर्णय भएको छ ।
यस्तै सरकारी कार्यालय प्रदान गरिने अति आवश्यक सेवा स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिइनेछ । जिल्लामा गत बैशाख २६ गते राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञामा अतिआवश्यक काम बाहेक हिडडुल गर्न नपाइने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्