एनएमबी बैंकद्वारा मनाङका बाढी प्रभावितको उद्धार



काठमाडौं। एनएमबि बैंकले हेलिकप्टर चार्टर गरेर मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ।

बैंकले राहतमा मिनरल वाटर, सेनिटाइजर र मास्क वितरण गरेको हो। एनएमबि बैंकको मनाङ शाखाका प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, गाउँपालिकाका वडा नं. ५ का अध्यक्ष कैले गुरुङ तथा स्थानीय समुदायको उपस्थितिमा राहत उपलब्ध गराइएको हो।

अचानक मौसम प्रतिकूल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाधमा रहेका तीन नाबालकसहित ५ जनालाई हेलिकप्टरबाट उद्धार काठमाडौं ल्याएको छ।

विगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले मनाङका अधिकांश नदिहरु थुनिएका छन्, जसले गर्दा ती स्थानका सयौ मानिसहरु घरवारविहीन भएका छन्। हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरी आफ्नो थातवास छाडेर सुरक्षित स्थानमा गएका छन्।

बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पुर्‍याएको छ। चामे गाउँपालिका वडा नं. ४ र ५ जोड्ने स्थानमा मस्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ। निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्