प्रयोगशालाबाट भाईरस चुहिएर कोरोना भाईरसको उत्पत्ति भएको भारतीय अनुसन्धानदाताको दावी !



एजेन्सी । तीनजना भारतीयहरूले गरेको अनुसन्धानले कोभिड–१९ को उत्पत्तिका विषयमा संसारलाई सोचमग्न बनाएको छ ।

वैज्ञानिक जोडी डा मोनाली राहलकर र डा राहुल बहुलिकरसँगै तेस्रा एक व्यक्ति छन् जसलाई द सीकर नामले मात्र जानिएको छ । द सीकरसँग आफ्नो कुराकानी हुने गरेको वैज्ञानिक जोडी बताउँछ ।

द सीकर २० देखि ३० वर्षका मानिस हुन् र उनी पूर्वी भारतमा कतै बस्छन् । उनी आफ्नो नाम खुलाउन चाहँदैनन् ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाले द सीकरसँग कुरा गर्न खोज्दा उनले एनक्रिप्टेड ईमेलमा जवाफ दिए । आफूलाई प्रसिद्धिको चाहना नरहेको र सुरक्षा तथा निजतालाई दाउमा राख्न नचाहने उनको भनाइ छ ।

कोरोनाभाइरसको उत्पत्तिका विषयमा किन अनुसन्धान गरेको भन्ने प्रश्नमा उनी भन्छन्, ‘मेरो उत्सुकताले मलाई यसतर्फ खिच्यो । एक वर्षभन्दा बढी समयदेखि म यसको अनुसन्धान गरिरहेको छु ।’

अप्रिल २०१२ मा चीनको युन्नान प्रान्तमा तामाको खानीमा तीनजना मजदूरलाई सरसफाइका लागि पठाइयो । त्यस खानीमा काम नहुने गरेकाले चमेराहरू धेरै थिए । त्यहाँ हावा आउजाऊ गर्दैनथियो र घन्टौंसम्म मजदूरहरूले सरसफाइ गरे ।

त्यसको दुई हप्तापछि तीनैजनालाई निमोनिया जस्तो रोग लाग्यो । त्यसपछि अन्य तीन मजदूरलाई सरसफाइका लागि पठाइयो र उनीहरूलाई पनि चर्को ज्वरो, खोकी र सास फेर्न समस्या हुने पाइयो ।

सबैजनालाई खुनमिङ मेडिकल कलेजमा उपचारका लागि पठाइयो र भेन्टिलेटरमा राखियो । केही महिनामै तीनैजनाको मृत्यु भयो ।

पीडितहरूको ब्लड स्याम्पल वुहानस्थित भाइरोलोजी ल्याब पठाइयो । त्यहाँ ब्याट वुमन भनी प्रख्यात डा शी चङ्लीले स्याम्पलको विश्लेषण गरिन् । ती मानिसहरू फंगल इन्फेक्सनका कारण बितेको उनले पाइन् ।

अहिले द वाल स्ट्रीट जर्नलमा रिपोर्ट आएपछि यो घटना र वुहान ल्याब दुवै चर्चामा छन् । त्यहाँबाट नै भाइरस लीक भएको आरोप सुदृढ बनेको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडनले गुप्तचर अधिकारीहरूलाई भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान बढाउन आदेश दिएका छन् ।

यसै सन्दर्भमा द सीकरले चीनबाट एउटा पोस्टग्य्राजुएट लेभलको थेसिस पत्ता लगाएका छन् । त्यसमा सन् २०१२ मा मोज्याङमा चमेराहरू रहेको खानीमा ६ जना कर्मचारी पुगेको र श्वासप्रश्वास सम्बन्धी रहस्यमय रोग लागेको उल्लेख छ । उक्त रोग कोभिडसँग धेरै हदसम्म मिल्छ । तीनजनाको पछि मृत्यु भएको थियो ।

द सीकरले गरेको यो खोजका कारण संसारभरिको ध्यान उनीप्रति केन्द्रित छ ।

द सीकर भन्छन्, ‘मैले धेरै तथ्य र आँकडाको अध्ययन गरेको छु जसले प्रयोगशालाबाट भाइरस चुहिएको कुरातर्फ इशारा गर्छन् ।’

वैज्ञानिक जोडी र द सीकरको अनुसन्धानले आरएटीजी१३ अर्थात् सार्स–कोभ–२ सँग मिल्ने खालको भाइरस मोज्याङको खानीमा भेटिएको थियो । वुहान इन्स्टिच्युट अफ टेक्नोलोजीमा आरएटीजी१३ माथि प्रयोग गरिएको पनि उनीहरूले पत्ता लगाए ।

प्रतिक्रिया दिनुहोस्