११९ विद्यालयका १८० नेपाली विद्यार्थीलाई ‘एम्बेसेडर अफ पाकिस्तान स्कलरसीप’प्रदान



काठमाडौं। नेपालस्थित पाकिस्तानी राजदूतावासले ११९ विद्यालयका १८० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

काठमाडौंको हायात प्लेसमा आयोजित १२औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहको आयोजना गरि नेपाली विद्यार्थीलाई ‘एम्बेसेडर अफ पाकिस्तान स्कलरसीप’प्रदान गरिएको पाकिस्तानी दूतावासले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सो छात्रवृत्तिका साथै उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गरेका थिए।

नेपालभरका विद्यालयका सम्बन्धित प्रधानाध्यापकहरूद्वारा चयन गरिएका सबैभन्दा योग्य नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको दूतावासको भनाई छ ।

सन् २०१३ मा सुरु भएको एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति कार्यक्रम सुरु भएको थियो।

कार्यक्रममा बोल्दै सचिब अधिकारीले पाकिस्तानले विशेषगरी शिक्षाको क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै यो नेपाल र पाकिस्तानबीचको घनिष्ट मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको धारणा व्यक्त गरे ।

नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले आफ्नो मन्तव्यमा पाकिस्तानले नेपालमा छात्रवृत्ति कार्यक्रम र तेस्रो तहदेखि माध्यमिक शिक्षासम्मको सहयोग विस्तारका लागि आफ्नो प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्