मनाङमा यार्सागुम्बा संकलन सुरु,डोल्पामा जेठ १० गतेदेखि खुला गरिने



काठमाडौं । विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ ।यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन थालिएको हो ।

यही वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जना यार्सागुम्बा सङ्कलनको अनुमति लिएर खर्कतर्फ गएका छन् ।अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन । त्यसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ ।संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले यार्सा पाइने नजिकको खर्कबाट वैशाख १० गतेबाट सङ्कलन सुरु हुने जानकारी दिए ।

उनका अनुसार मनाङमा यार्सागुम्बा सङ्कलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो । खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णय बमोजिम सङ्कलकलाई अनुमति दिइएको उनले बताए ।

उता डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिनुभयो ।

बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवं स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ । प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा सङ्कलन गर्न बीसौँ हजार सर्वसाधारण पुग्ने गर्दछन् । डोल्पाका यार्सा पाटन वन क्षेत्रमा भन्दा निकुञ्ज क्षेत्रमा धेरै पर्ने गर्दछन् ।

यार्सागुम्बा सङ्कलन गर्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था निकुञ्जले गरेको छ । मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ । निकुञ्ज र वन क्षेत्रका यार्सा सङ्कलन गर्न लुकीछिपी अवैधरुपमा मानिसहरु जाने गरेका छन् । डोल्पामा वैशाखमै यार्सा उम्रिसक्ने भएकाले जुम्ला र डोल्पाका सर्वसाधारण सङ्कलन गर्न जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्