टेलिकमको नेटवर्कमा आईरहने गडबडीले सोलुखुम्बुबासी हैरान



अनुज खड्का
सोलुखुम्बु ।नेपाल टेलिकमको नेटवर्कमा दिनहुुँ आईरहने गडबडीका कारण आपतकालिन अवस्थामा आफन्तहरुसंग सम्पर्क स्थापित हुन नसक्दा सोलुखुम्बुबासीहरु हैरान हुन पुगेका छन।

जिल्लामा पर्याप्त मात्रामा टावर रहेको भए पनि तिनको नेटवर्क क्षमता भने अत्यन्तै न्यून हुंदा समस्या आएको स्थानीयको गुनासो छ। हाल जिल्लामा करिब २९ वटा रिपिटर टावर रहेका छन । जसमध्ये कति त बिग्रीएको अवस्थामा छन भने कति चाहिँ पावर ब्याकअपको समस्याका कारण त्यसै थन्किएका छन । जसले गर्दा जिल्लाको दुरसंचार नेटवर्क अत्यन्तै कमजोर अवस्थामा रहेको छ ।

कोशी पारी रहेको सोताङ र महाकुलुङका अधिकांश भू-भाग, थुलुङ दुधकोशी गाउँपालिकाको केही भू-भाग, सदरमुकाममा अवस्थित सोलुदुधकुण्ड नगरपालिकाकै कतिपय वडामा नेटवर्क नै नआउने समस्या रहेको छ । नेटवर्क उपलब्ध हुने कतिपय क्षेत्रमा पनि आवाज स्पष्ट नबुझिने समस्याका कारण उपभोक्ताहरू दिक्क भएका हुन । त्यस्तै खुम्बु पासाङलम्हु गाउँपालिका, माप्य दुधकोशी गाउपालिका, नेचासल्यान गाउँपालिका र लिखुपिके गाउँपालिकामा समेत गुणस्तरहीन नेटवर्कले समस्या दिने गरेको त्यहाँका स्थानियहरू बताउँछन्।

टेलिकमको सोलुखुम्बु जिल्ला स्थित कार्यालयमा ६ जना कर्मचारी कार्यरत छन् । तर राज्यकोषबाट उनिहरूको तलबमा गरिएको खर्च भने सेवाको आधारमा ब्यर्थ जस्तै भएको छ ।

बर्षौ देखि एउटै समस्या झेल्न उपभोक्ता बाध्य हुँदा समेत टेलिकमका कर्मचारीले नेटवर्क सुधारमा खासै चासो नदिएको आरोप उपभोक्ताको छ।कयौ पटक त उपभोक्ताले टेलिकममा ताल्चा समेत लगाईदिएका छन । तर बिवाद आउँछ, कर्मचारी सरुवा हुन्छन- नेटवर्कको अवस्था भने “रातभरी रुङ्ग्यो, बुढी त जिउदै” भनेजस्तै भएको छ ।

यदि कसैले टेलिकममा गएर यस बिषयमा गुनासो गरेमा कर्मचारीहरू सजिलै भनिदिन्छन यो हाम्रो समस्या हैन/ माथिबाट नै यस्तै समस्या छ । उनिहरूले यसरी सजिलै उम्कन पाउने छुट छैन । किनभने समस्या जसको वा जताको भएपनि मारमा त सोलुखुम्बुका उपभोक्ताहरू नै परिरहेकाछन । यस जिल्लाको कार्यालयमा जागिर खाएपछि यहाँका उपभोक्तालाई गुणस्तरीय सेवा दिने दायित्व यहीँका कर्मचारीको हो । तर कतिसम्म भने सल्लेरी बजारमा टेलिफोन सेवा बितरण गर्न टांगिएका तार समेत ब्यबस्थित गर्न टेलिकमका कर्मचारीले तदारुकता देखाउदैनन । जसले खर्दा बजारको सौन्दर्यमा ह्रासमात्र आएको छैन, कर्मचारीको अकर्मण्यता समेत उदांग हुँदै गइ रहेको छ। यसतर्फ नेपाल टेलिकम केन्द्रले ध्यान दिनुपर्ने माग स्थानीयले गर्दै आएका छन।

प्रतिक्रिया दिनुहोस्