आज नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस,एमालेले च्यासलमा केन्द्रीय कार्यालय सार्दै



काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि ९ वैशाख २००६ मा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् । स्थापना दिवसका अवसरमा नेकपा एमालेले दिउँसो १ बजे कार्यक्रम आयोजना गर्दैछ । यही अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालय थापाथलीदेखि च्यासलमा सार्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा कम्युनिस्ट योद्धालाई सम्मान र स्थानीय निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ हुन् । उनीहरूले भारतको काेलकातामा पार्टी स्थापना गरेका थिए । पार्टी स्थापना भएको ४५ वर्षपछि २०५१ मा पहिलो पटक कम्युनिस्ट पार्टी सत्तामा पुगेको थियो ।

मनमोहन अधिकारी नेतृत्वमा गठन भएको सरकारले अघि सारेको सामाजिक सुरक्षाको कार्यक्रमअन्तर्गत वृद्धा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँलगायत कार्यक्रम लोकप्रिय बन्यो ।

अधिकारीबाहेक कम्युनिस्ट नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, कम्युनिस्ट कित्ताबाट केही वर्षअघि अलग भएका डा. बाबुराम भट्टराई र केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्