महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले पेश गरेको पूरक निवेदन सर्बोच्चमा दर्ता, भदौ ११ गते सुनुवाइ
काठमाडौं,९ जेठ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् । मंगलबार (भदौ ९) देउवा र खड्काले भिन्नाभिन्नै रूपमा पूरक निवेदन दर्ता गराएका हुन् ।

गएको शुक्रबार देउवाले महाधिवेशन रोक्न रिट निवेदन पेस गरेका थिए । तर, ‘करेक्सन’ गर्नुपर्ने बताउँदै फिर्ता लगेका थिए ।
सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले पुनरवलोकनको पूरक निवेदन दर्ता भएको जानकारी दिए । “दुईवटै पूरक निवेदन दर्ता भएको छ । सुनुवाइका लागि भदौ ११ गतेका लागि पेसी तय भयो,” कोइरालाले भने, “यो रिट नभएर पुनरवलोकन निवेदनको पूरक निवेदनका रूपमा दर्ता भएको हो । विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयका विषयमा पुनरवलोकनको निस्सा पाएर मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनका कुनै पनि क्रियाकलाप अघि नबढाउन अन्तरकालीन आदेशको माग छ ।”

