दाहाल-नेपाल समूहको आन्दोलन:मानव साङ्लोले घेरियो टुंडिखेल
काठमाडौं,६ फाल्गुन ।प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहको नेकपाले तीन चरणका विरोध तथा संघर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ।
चौथो चरणको संघर्षको कार्यक्रम अन्र्तगत बिहीबार काठमाडौंको टुडिखेललाई मानव साङ्लोले घेरेर प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको बिरोध गरेको हो।
नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध टुडिखेलमा मानव साङ्लोले घेरिएको बताए।
मानव साङ्लोमा नेकपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभाको असंवैधानिक कदम खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, प्रतिगमन मुर्दावाद लगायतका विभिन्न प्लेकार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएका थिए भने नेता कार्यकर्ताहरुले पार्टीको झण्डा र सुर्य चिन्ह पनि बोकेका थिए।