कर्मचारीको हक-हित र दक्षता निर्माण गर्नेतर्फ नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु: रामकुमार कार्की



महाराजगञ्ज स्थित त्रि.वि शिक्षण अस्पतालको हालै सम्पन्न कर्मचारी संगठनको अधिवेशनमा रामकुमार कार्की अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । उहाँ लामो समयदेखि अस्पतालमा अनवरत रुपमा सेवा प्रदान गर्दै आइरहनु भएको छ । उहाँसँग भेटको क्रममा गरिएको कुराकानी:

तपाईं त्रि.वि शिक्षण अस्पतालमा कसरी र कहिलेबाट क्रियाशील हुनुहुन्छ ?
त्रि.वि शिक्षण अस्पतालमा वि.सं २०४१ सालमा नियुक्ति भएको हो । शुरुमा मेडिकल रेकर्ड शाखा अन्तर्गत विरामी नाम दर्ता गर्ने कामबाट सेवा शुरु गरेको हुँ । हालसम्म पनि सोही शाखाको मेडिकल रेकर्डर भै मेडिकल रेकर्ड सम्बन्धि सम्पूर्ण कार्यहरुका साथै स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, उपचार प्रकृया, अध्ययन अधयापन र अनुसन्धान तथा विरामी उपचारको लागि सहयोग पु¥याउने आदि कार्यहरु निर्वाह गरिरहेको छु ।

स्वास्थ्य कर्मी संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ, तत्कालिन के कस्ता कार्यहरु गर्ने योजनामा हुनुहुन्छ ?
त्रि.वि शिक्षण अस्पताल कर्मचारी संगठनको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएको छु । त्यसैले पनि मलाई साथ दिने सवै कर्मचारी र यस अस्पतालमा कार्यरत कर्मचारी साथीहरुलाई एकताबद्ध गराएर संगठनको एकतालाई अझ मजबुत बनाउनु मेरो दायित्व हो । त्यसैले अस्पतालमा कार्यरत सवै कर्मचारी साथीहरुको भावना, आवश्यकता र अस्पतालमा आउने विरामीहरुको सेवाको लागि तत्पर भएर कामगर्ने वातावरणको निर्माण गर्ने, र एउटा एकता र सहकार्यताको वातावरण निर्माण गर्ने नै पहिलो काम हो । कर्मचारीहरुको हक हित र शिप तथा दक्षता निर्माण गर्नेतर्फ नेतृत्वदायि भूमिका निर्वाह गर्नेतर्फ नै मेरो ध्यान केन्द्रीत रहने छ

शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरुको मुख्य समस्या के-के देख्नु भएको छ ?
— केही पेशागत र वैयक्तिक समस्याहरु छन् । समस्या त कहाँ हुँदैन र ? अहिले कर्मचारी तन्त्रमा फैलिएको विभिन्न राजनीतिक विचार पनि एउटा समस्या बनेको छ । यसलाई रुपान्तरण गरेर विशुद्ध कर्मचारीहरुको हक, हित संरक्षण र शिप दक्षता अभिवृद्धि उचित रुपमा भइसकेको छैन । कर्मचारीहरुको समस्या निराकण नभई अस्पतालमा सेवा सही रुपमा दिन गारो हुन्छ । त्यसैले कर्मचारीको समस्या केवल कर्मचारीको मात्र नभएर समग्र अस्पतालको पनि हो भनेर बुझ्नु पर्छ । केही राजनीतिक स्वार्थका कारण कर्मचारीहरुको पेशागत आवश्यकता उचित रुपमा पुरा भएका छैनन् । तिनको सम्बोधन र अज गहिराइमा अध्ययन हुनु पर्दछ जस्तो मलाई लाग्छ ।

कोभिड १९ को संक्रमणको खतरामा पनि स्वास्थ्य कर्मीहरु सक्रिय रुपमा क्रियाशील छन् । अस्पताल प्रशासनले कसरी हेरिरहेको छ ?
— कोभिड १९ को महामारी नेपालमा मात्र नभएर विश्वमै महामारीको समस्या हो । यस्तो विषम परिस्थितिमा स्वास्थ्य कर्मीहरुले नै महत्वपूर्ण जिम्मेवारी निर्वाहगर्नु पर्ने समय हो । यतिबेला अस्पतालले कसरी हेरिरहेको छ भन्दा पनि महत्वपूर्ण सेवा प्रदान गर्ने ठूलो कुरा हो । कोभिडका कारण स्वास्थ्यकर्मीहरुलाई थप चुनौती त छ नै । अस्पतालबाट उचित वातावरण नै मिलेको छ, भन्नुपर्छ । समग्र मुलुककै स्वास्थ्य कर्मीहरु जोखिम मोलेर आफ्नो कर्ममा जुटेका छन् । यस्तो समयमा व्यक्तिगत भन्दा पनि विरामीलाई बचाउने, रोग फैलिन नदिने र व्यवस्थापन गर्नुपर्ने स्वास्थ्य कर्मीको विशिष्ठ जिम्मेवारी नै हामीले वहन गर्नेतर्फ ध्यान दिइरहेका छौं ।

स्वास्थ्य कर्मीहरुको अवस्थामा सरकारले कस्तो भूमिका खेल्नुपर्छ भन्ने लाग्छ ?
नेपाल सरकारले स्वास्थ्य कर्मीहरुलाई उचित र तोकिएको तलव भत्ता, प्रोत्साहन भत्ता समयमै उपलब्ध गराउनु पर्छ । स्वास्थ्य कर्मीको स्तरोन्नती तर्फ पनि सरकारले ध्यान दिनु आवश्यक छ । यहाँ विरामीको अत्यन्त चाप हुने गर्दछ, यस्तो व्यस्त र सर्वसाधारण विरामीको चाप धेरै हुने अस्पतालमा दरवन्दी बढाउने र सहज वातावरण निर्माण गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान जानुपर्नेमा म जोड दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्