३० बर्षदेखि देश लुटेर खोक्रो बनाउनेहरुलाई यसपटकबाट सिंहदरबार पस्न दिनुँ हुदैन



  • शैलेन्द्र बस्नेत
    स्वतन्त्र उम्मेदवार, क्षेत्र नं-५ काठमाडौं
  • तपाईंले आगामी निर्बाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ,अहिलेको पार्टी पद्धतिमा स्वतन्त्रले कसरी काम गर्न सक्छ?

प्रश्न स्वभाविक हो । तर अहिलेका सबै दलहरु असफल भइसके । दल केका लागि सरकार बनाउनका लागि होला ? सरकार के का लागि जनताको लागि काम गर्नका लागि होला , राम्रो सँग राज्य संचालनका लागि होला । त्यो भएको पाउनुभएको छ त तपाईंले ? त्यसैले जनताले यसको विकल्प खोजिसके । त्यसैको परिणाम हो वालेन्द्र शाह र हर्क साङपाङ । र हामीमा त्यसैगरि काम गर्छौ भन्ने दृढ अठोट छ । अहिले सत्तामा भइरहेका दलहरुले तीन दशक वढी देश चलाउनुभयो । यो अवधिमा काठमाडौंमा कुनै गतिलो पार्क बन्यो ? सडक बन्यो ? रिङरोड कैले चाइनाले बनाइदेला भनेर आश गरेर बस्नुभाछ । चावेलदेखि कलंकीसम्मको १० किलोमिटर बाटो राज्यले बनाउन नसक्ने हो र ? यीनीहरुले काम नगरेर हो नि ? तीन कुनेको एउटा पार्क कैले बन्दैन । यो सबै लाजमर्दो कुरा हो।
यिनीहरुले राजधानीको खुला जग्गा कुनै पनि बाँकी राखेनन् । जनतालाई सास फेर्ने ठाउँ छैन । तर कमिसनमा विक्रि भएर खाली जग्गाजति सबै भाडामा दिइसके । यिनीहरुका छोराछोरीहरु सबै विदेशमा छन् । अनि उनीहरुलाई देशको माया होला ? देशको माया भए पो केहि गर्ने जाँगर चल्छ ? हामी निर्दलिय व्यवस्थाका पक्षपाती भएर स्वतन्त्र उठेको हैन । अहिलेको व्यवस्थामा भएका विकृतिलाई चूनौति दिन र त्यसलाई सच्याउन सुधार्न अघि सरेको मात्रै हो । भ्रष्ट्र शासकहरुले देशलाई वलात्कार गरेको हेर्न नसकेर मैदानमा उत्रिएको हो । हामी सबै गतिविधि दलिय व्यवस्था अनुरुप संविधानले तोके अनुसार नै गर्ने हो । खालि देश ववार्द पार्नेहरुलाई रोकेर त्यो ठाउँमा योग्य सक्षम इमानदार मानिस पुगोस् र देशको लागि केहि काम होस् भन्ने मात्रै हो । तर एउटा सत्य के हो भने दलीय कार्यकर्ता भन्दा स्वतन्त्रहरुको भूमिका चाहि प्रभावकारी हुनेछ ।

० तपाईलाई काम गर्न किन साँसद नै हुनुपर्‍यो ? आफै पनि कामहरु गर्दै आउनुभाको थियो ?

केहि साता अघिको काठमाडौंलाई फर्केर हेर्नुस्त । काठमाडौं महानगर फोहोरको थुप्रोले पुरिसक्यो । संसारभरका मिडियामा फोहोरको समाचार आउन थालिसक्यो । हाम्रो देशको सरकार ,पार्टी र नेताहरु त्यसबारेमा कति गम्भीर हुनुभयो ? एक दिन वालुवाटारमा छलफल भएको थाहा पाउनुभयो ? बानेश्वरमा कुनै साँसद बोलेको सुन्नुभयो ? उहाँहरु किन साँसद हुनुभाको ? जनताको पक्षमा काम गर्न हैन ? जनताको पक्षमा आवज उठाउन हैन ? खै त उहाँहरुले त्यो गर्नुभाको ? उहाँहरु जनताका समस्याका बारेमा छलफल समेत गर्नुहुन्न तर रातारात नागरिकता विधेयक पारित गर्नुहुन्छ । हामी भाको भए सायद त्यस्तो हुँदैन थियो । हामी जनताको विषयलाई, समस्यालाई प्राथमिकता दिन्थ्यौं र जनताको लागि आवाज उठाउँथ्यौं । हामी कसैको गोटी हुँदैनौ । हामी र उहाँहरुवीचको फरक नै यहि हो ।
राष्ट्रले सहि नेतृत्व पाउँदाखेरि हामीले हेर्दा हेर्दै आज चीन र दक्षिण कोरिया कहाँ पुगे ? हामीले अस्ति भर्खरैसम्म खाद्यान्न सहयोग पठाउने ठाउँमा आज काम गर्न जानको लागि युवाहरुको कत्रो तछाड मछाड हुन्छ । आज भुटान र वङ्लादेशको समेत अवस्था हाम्रो भन्दा निकै राम्रो छ । तर यति सुन्दर देश सधै संसारकै तन्नम भएर कैलेसम्म बस्ने ? तपाई हामीले चिया पसलमा नेताको कुरा काटेर यो देश समृद्ध हुन्छ ? उद्योगहरु खुल्छन् ? रोजगारी पाईन्छ ? अझै यहि नेतृत्वले केहि गर्छ भन्ने आशा छ तपाईहरुलाई ? कि यो देश अझ यो भन्दा पनि गए गुज्रेको होस् भन्ने चाहाना छ ? नत्र भने ३० वर्षदेखि यो देश खोक्रो पारेर लुटिरहेकाहरुलाई यो पटक सिंहदरवार प्रवेशमा रोक लाउनैपर्छ ।

अर्को कुरा,तपाईं हामीले गरेको सानो तिनो कामले राष्ट्रमा खासै ठूलो परिवर्तन आउन सक्दैन । हामी ठूलो परिवर्तन चाहन्छौं । तर त्यसको लागि अघि सर्न डराउँछौ । तपाईको परिकल्पना के छ भने सरकारी विद्यालयलाई राम्रो बनाऔं ,सरकारी अस्पतालको सेवा राम्रो होस् , देशभित्रै रोजगारी होस्, खानेपानीको व्यवस्था राम्रो होस् ,सडक राम्रो होस् । हामी सवैले चाहेको यहि हो । वर्षौ वित्यो तर त्यो भयो त ? त्यसैले तपाईं हामी केहि गरौं भन्ने सोच भाको मान्छे आफैं राज्यको शक्तिशाली निकायमा नपुग्ने हो भने केहि पनि नहुने रहेछ । यो त हामीले अनुभव गरिसक्यौं । त्यसैले अब हामी सबै मिलेर भ्रष्ट नेताहरुलाई विस्थापित गर्नुपर्छ र त्यो ठाउँमा अब तपाई हामी पुग्नुपर्छ

प्रतिक्रिया दिनुहोस्