माप्य दुधकोशी : कृषक समूहको भवनका लागि कार्कीद्वारा नि:शुल्क जग्गादान



सोलुखुम्बु , १ माघ । जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्ब ३ बासास्थित सगरमाथा कृषक समुहको भवन निर्माणका लागि निशुल्क जग्गा प्राप्त भएको छ । कृषकहरुलाई आत्मनिर्भर र आधुनिक कृषि व्यवसायतर्फ उन्मुख गराउने उद्देश्यका साथ स्थापना भएको समुहको भवन निर्माणका लागि माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कार्कीले निशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।

स्थानीय समाजसेवी कार्कीले वडा नम्बर ३ डाँडाँटोलको पाँच लाख रुपैयाँ भन्दा बढि पर्ने करिब आधा रोपनी क्षेत्रफल भएको आफ्नो जग्गा समुहलाई दान गरेको समुहका अध्यक्ष ललितबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार माप्य दुधकोशी गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमार्फत समुहको भवन निर्माणार्थ ५ लाख रुपैयाँ रकम विनियोजन भइसकेको छ । जग्गा उपलब्ध भएसँगै अब चाँडै नै भवन निर्माणको काम अघि बढाइनेछ । ३२ घरधुरी समावेश रहेको समुह २०७२ सालमा सोलुखुम्बु जिल्ला कृषि विकास कार्यालयमा औपचारिक रुपमा दर्ता भएको थियो । समुहले कृषिसँग सम्बृन्धित गतिविधि सञ्चालन गर्नुका साथै कृषि विउँ, कृषि सामाग्री वितरण गर्दै आएको छ ।

समुहका अध्यक्ष कार्कीले निशुल्क जग्गा दान गर्ने मनका धनी जग्गादाता बलबहादुर कार्की र सबै परिवारप्रति आभार प्रकट गर्दै अब आफ्नै भवन निर्माण भएपछि समुहको हरेक गतिविधि सञ्चालनका लागि थप सहज हुनुका साथै नयाँ नयाँ अवसर सिर्जना गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो । आफ्नै भवन निर्माण नहुँदा व्यक्तिको घरमा बैठक बस्नुपर्ने, समुहको सरसामानहरु व्यक्तिकै घरमा थन्क्याउनुपर्ने अवस्था खेप्दै आउनुपरेको समुहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्