भिमेश्वरको शिलामा फेरि पसिना , क्षमापूजा गरियो



काठमाडौं, २७ मंसिर ।दोलखास्थित प्रख्यात भीमेश्वर मन्दिरको शिलामा गत मंसिर ९ गते पसिना आएपछि मुलुक र जनतालाई अनिष्ट नहोस भन्दै क्षमापूजा गरिएको छ ।

साक्षात भविष्य सूचककोरुपमा मानिने दोलखा स्थित प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपति, भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र सर्वसाधारणको तर्फबाट क्षमापूजा गरिएको हो । राष्ट्रपति कार्यालयबाट पठाइएको २ वटा बोका, भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र स्थानीय सर्वसाधारणको तर्फबाट २ वटा बोका तथा नेपाली सेनाका प्रधान सेनापतिले पठाएको १ वटा बोका गरी ५ वटा वलि पूजा सहित क्षमापूजा गरिएको छ । क्षमापूजा को क्रममा १३ जना पण्डितबाट हवन यज्ञ तथा एघार आर्वत्ती लघुरुद्री गरिएको छ ।

सरकारका तर्फबाट प्रमुख लिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटी, दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेवतिरवण पोखरेल, नेपाली सेना तारादल गणका गणपति प्रमुख सेनानी अनिल केसी, भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठ तथा भीमेश्वर नगरपालिका वडा नंं. २ का अध्यक्ष विराजमान श्रेष्ठले लघुरुद्री संकल्प गरेका थिए । भीमेश्वरको शिलामा पसिना आएपछि सो कपास पुछिएको कपास महाप्रसादको रुपमा राष्ट्रप्रमुखलाई पठाएसँगै राष्ट्रप्रमुखले क्षमापूजा गर्ने चलन छ । दोलखा भीमसेनमा पसिना आएको यो १९ औं पटक हो ।

पछिल्लो कालखण्डमा वि.सं. १९९०, १९९७, २००७, २०१७, २०१९, २०२६, २०२८, २०३६, २०४५, २०४६ २०५७, २०६३, २०७०, २०७१, २०७४, २०७६ र २०७७ सालमा भीमसेनको मूर्तिमा पसिना आएको थियो ।

प्रतिक्रिया दिनुहोस्