रास्वपाले तय गर्यो पहिलो महाधिवेशनको मिति, असार ७, ८ र ९ गते चितवनमा हुने
काठमाडौं,३० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन असार ७, ८ र ९ गते हुने भएको छ । बुधवार बिहान बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार चितवनमा हुने महाधिवेशनमा देशभरबाट २५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । पार्टीको पहिलो महाधिवेशनमा ७७ वटै जिल्लाबाट २५ सय प्रतिनिधि सहभागी हुने आज बिहान बसेको केन्द्रीय समितिको बैठकले तय गरेको रास्वपाका नेता प्रमोद न्यौपानेले जानकारी दिए ।

बैठकमा महाधिवेशनको तयारीबारे छलफल भएको बताइएको छ । उनले ७७ वटै जिल्लामा समन्वयका लागि प्रतिनिधि तोकिने पनि जानकारी दिए । यस्तै जेठ २६ गते बागमतीको प्रदेश अधिवेशन, जेठ २७ गते कोशी, २८ गते मधेस, २९ गते गण्डकी प्रदेश ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने उनले जानकारी दिए । रास्वपाको जिल्ला अधिवेशन यसअघि नै भइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको असार ७ गते घोषणा भएको थियो । निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो । स्थापनाकालदेखि रवि लामिछाने रास्वपाको सभापतिमा रहेका छन् । हाल बालेन्द्र शाह वरिष्ठ नेता, डा.स्वर्णिम वाग्ले उपसभापति, कविन्द्र बुर्लाकोटी महामन्त्री, भूपदेव शाह महामन्त्री, विपिनकुमार आचार्य सह–महामन्त्री, लिमा अधिकारी कोषाध्यक्ष, वसुमाया तामाङ्ग सह–कोषाध्यक्ष रहेका छन् । डीपी अर्याल सभामुख बनेपछि उपसभापति पदबाट हटेका हुन् ।
बैठकले शाहको नेतृत्वमा समायोजन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा विष्णु पुरुष श्रेष्ठ, रामकृष्ण भट्टराई लगायत रहेको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार बैठकले समायोजन सम्बन्धी मस्यौदा पेस गर्न जेठ १० गतेको समय सीमा तोकेको छ । ‘बैठकले महामन्त्री भूपदेव शाहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ । जेठ १० गतेसम्म समायोजन मस्यौदा पेस गर्न निर्देशन दिएको छ’, उनले भने ।
रास्वपाले फागुनमा भएको निर्वाचनअघि विवेकशील साझा, थरुहट/थारुवान, बालेन शाह समूह र विभिन्न जेनजी समूहसँग एकता गरेको थियो ।

