नासाले अन्तरिक्षमा पहिलो पटक मुला फलायो



अमेरिकी स्पेस एजेन्सी नासाले अन्तर्राष्ट्रिय स्पेस स्टेसन (अन्तरिक्ष केन्द्र) आईएसएसमा मुला फलाएको छ । नासाकी अन्तरिक्ष यात्री केट रुबिन्सले आईएसएसको एड्भान्स प्लान्ट हेबिटेटमा २० वटा मुला फलाएकी हुन् ।

प्लान्ट हेबिटेट-०२ नाम दिइएको उक्त बिरुवा प्रयोगमार्फत नासाले अन्तरिक्षको प्रयोगशालामा पहिलोपटक मुला फलाउन सफल भएको हो । वैज्ञानिकहरुले सजिलै बुझ्ने र २७ दिनमै उम्रेर तयार हुने भएका कारण नासाले मुलालाई चयन गरेको थियो ।

त्यसो त यसअघि पनि अन्तरिक्षयात्रीहरुले स्पेस स्टेसनमा विभिन्न किसिमका बालीहरु उब्जाएकै हुन् । तर मुला पोषिलो खाद्य वस्तु हुनुका साथै माइक्रो ग्राभिटी अध्ययनमा प्रयोग हुने अराबिडोप्सिस जस्तै भएको कारण यसलाई प्रयोग गरिएको नासा एपीएच प्रोग्राम म्यानेजर निकोल डुफरले बताएका छन् ।

माइक्रोग्राभिटीमा कुन बनस्पति फस्टाउन सक्छ भन्ने कुरा पत्ता लगाउनका लागि नासा हाल विभिन्न किसिमका अन्न तथा बिरुवाहरु अन्तरिक्षमा उमारिरहेको छ । माइक्रोग्राभिटीमा फस्टाउने विरुवा पहिचान गर्न सकेको खण्डमा लामो मिसनमा जाने अन्तरिक्ष यात्रीहरुका लागि उत्कृष्ट र पोषक सन्तुलित आहार खोज्न मद्दत पुग्ने नासाको विश्वास छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्