काठमाडौँ उपत्यकामा फेरी लकडाउन !



काठमाडौं, मङ्सिर ७ –  उपत्यकाभित्र महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कोरोना संक्रमण थप फैलन नदिन र नियन्त्रणमा ल्याउन कम्तिमा दुईदेखि बढीमा तीन साताको कडा लकडाउन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई सुझाव दिएको छ ।

फोरम प्रवक्ताका अनुसार ‘कोभिड–१९ महामारीको दोस्रो चरण देखिएपछि युरोपका धेरैजसो मुलुकमा पुनः लकडाउन शुरु भएकोले काठमाडौं उपत्यकामा पनि शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ्ग गरी महामारी नियन्त्रणको लागि कम्तिमा दुई र बढीमा तीन साताको लकडाउन आवश्यक हुन्छ ।’

उनका अनुुसार फोरमले सरकारलाई आफ्नो प्रस्ताव बुझाएपनि यस सम्बन्धमा अन्तिम निर्णय सरकारले नै गर्नुपर्नेछ । हालैका दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वका कारण काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागमा कोरोना संक्रमण बढेको आशंका गरिएको छ । तर, यसबीच शंकास्पद संक्रमितहरु परीक्षणको लागि अस्पताल वा स्वास्थ्य केन्द्र जाने क्रम भने घटेको छ ।

काठमाडौं उपत्यकामा मात्रै संक्रमितहरुको संख्या एक लाख नाघेको छ । शनिबारसम्म मुलुकभर संक्रमितको संख्या दुई लाख १८ हजार छ सय ३९ रहेको छ भने मृतकको संख्या एक हजार तीन सय पाँच जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्