तत्कालै खेलकुद गतिविधि सुचारु गर्नुपर्छ



कोभिड १९ को संक्रमणबाट उत्पन्न समस्याका कारण समग्र खेलकुद क्षेत्र पनि प्रभावित बन्न पुग्यो । समग्र खेलकुदका कार्यक्रम तथा प्रशिक्षण रोकिएको अवस्थामा पनि अनलाईनबाट खेलाडिलाई प्रशिक्षण दिनुका साथै खेलाडिको कोरोना बीमाको सुविधा दिएर स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टरले एक उदाहरणीय कार्य गरेको छ । यसै सन्दर्भमा अध्यक्ष तथा प्रमुख प्रशिक्षक रमेश सुनारसँग गरिएको संक्षिप्त कुराकानी :

0 कोभिड १९ को महामारीको बीचमा कसरी प्रशिक्षण कसरी दिइरहनु भएको छ ?
– पहिलेजस्तो प्रशिक्षण तथा खेलकुद गतिविधि सञ्चालन गर्न असहज भइरहेको छ । तै पनि सामाजिक दुरी कायम गर्दै अनलाईनबाट प्रशिक्षण दिइरहेका छौं । खेलाडिहरु घरमै बसेर अभ्यास गरीरहेका छन् । यतिबेला संक्रमणबाट बच्नु नै चनौती भइरहेको छ । तर खेलाडीहरुलाई प्रशिक्षण दिनु पनि आवश्यक भएकाले अनलाईन मार्फत् घर घरमै अभ्यास गराइरहेका छौं । पहिले जस्तो नियमित र सहज प्रशिक्षण भने स्थगित गरेका छौं ।

0 खेलाडिहरुको अवस्था, मानोविज्ञान कस्तो पाउनु भएको छ ?
– खेलाडिहरुमा निराशा देखिएको छ । खेलकुदको भविष्य कस्तो हुने हो भन्ने चिन्ता आम खेलाडिहरुमै देखिन थालेको छ । हाम्रो क्लबका प्रशिक्षार्थीहरुमा पनि अलमल भइरहेको थियो । हामीले संक्रमणबाट कसरी बच्ने भन्ने विषयमा प्रशिक्षण दियौं । अनलाईनबाटै प्रशिक्षण पनि शुर गरिहाल्यौं । तर यस्तो विषम परिस्थितिमा समग्र खेलकुद क्षेत्रनै निराशामय बनेको छ । खेलाडिहरुलाई केही उत्साह भर्न तत्काल कार्यक्रमहरु तथा प्रशिक्षण शुरु गर्नुपर्ने देखिन्छ । खेलाडिहरुको दैनिक जीवन निर्वाहका लागि पनि खेलकुद परिषद्ले विशेष राहतको प्याकेज ल्याउनु पर्ने अवस्था छ ।

0 तपाईं क्लबको अध्यक्ष पनि हुनुहुन्छ, क्लबले खेलाडिहरुलाई राहत तथा बीमाको सुविधा दिएको भन्ने सुनिन्छ, यस विषयमा बताइदिनुस् न ?
– हामीले महामारीका बीचमा संक्रमणबाट जोगिन केही कार्यक्रमहरु गरेका थियौं । खेलाडिहरुलाई कोभिड १९ को संक्रमणबाट बच्ने उपायका बारेमा प्रशिक्षण दियौं । अभावमा रहेका खेलाडि तथा स्वयंभु क्षेत्रका बासिन्दाहरुको लागि पनि राहतको व्यवस्था मिलायौं । सुरक्षाका विधि अपनाएर अनलाईन प्रशिक्षण पनि शुरु गरेका थियौं । र सवै खेलाडिहरुको ५० हजार बराबरको कोरोना बीमा पनि गरेका छौं ।

0 खेलकुद क्षेत्रमा कोभिड १९ को महामारीबाट उत्पन्न समस्याका कारण कस्तो प्रभाव परेको छ ?
– हाम्रो जस्तो विकासोन्मुख मुलुकको खेलक्षेत्र नै विभिन्न समस्याका कारण प्रभावित भइनै रहेको हुन्छ । अर्को तर्फ खेलकुदमा हुनेगरेको राजनीतिक हस्तक्षेप र राजनीतिकरणले गर्दा खेलकुद नै सही दिशामा हिंड्न सकिरहेको छैन । भइरहेका खेलकुद गतिविधि र प्रतियोगिताहरु पनि हाल कोरोना भाइरसको संक्रमणका कारण भइरहेको लकडाउन र निसेधाज्ञाका कारण पुरै रोकिन पुगेको छ । खेलकुद कार्यक्रम हुन नपाउनु र नियमित प्रशिक्षण गर्न नपाउनु त खेलाडिको लागि आशाको ढोकानै बन्द भएजस्तै हो । यस्तो अवस्थामा समग्र खेलाडिहरु चिन्तित भइरहेकै छन् । समस्याका वावजुत पनि सरकारले विशेष तयारी गरेर प्रतियोगिता र नियमित प्रशिक्षण गर्ने वातावरणको सिर्जना गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्