एएफसी फुटबल प्रतियोगिता रद्द



काठमाडौं , २६ भाद्र । कोरोना भाइरसको महामारीका कारण एएफसी कप फुटबल २०२० प्रतियोगिता रद्द भएको छ । एसियन फुटबल फेडेरसन (एएफसी)ले बिहीबार एसियाको दोस्रो श्रेणीको क्लब स्तरीय प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो ।

भिडियो कन्फ्रेन्सको माध्यमबाट बसेको एएफसीको बैठकले कोरोना भाइरसको स‌ंक्रमणलाई मध्येनजर गर्दै यस वर्षको एएफसी कप रद्द गर्ने निर्णय गरेको हो । यस वर्ष एएफसी कपमा नेपालबाट सहभागिता थिएन । मछिन्द्र क्लबले लिग जिते पनि नेपाली क्लबहरुको क्लब लाइसेन्स मापदण्ड पूरा नभएकोले एएफसी कप खेल्नबाट वञ्चित भएको थियो ।

यसैगरी एएफसीले यसवर्षको सोलिडारी कप प्रतियोगिता समेत रद्द गरेको छ । एएफसीका अनुसार आगामी २०२४ मा सोलिडारिटी कप प्रतियोगिता हुने छ । कोरोना महामारीकै कारण यूएईमा हुने तय भएको एएफसी फुटसल क्लब च्याम्पियनसिप समेत रद्द गरिएको छ ।

यस्तै एएफसी यू-१६ र यू-१९ च्याम्पियनसिप २०२१ सम्मका लागि स्थगित गरेको छ । एएफसीले कुवेतमा नोभेम्बर तय भएको एएफसी फुटसल च्याम्पियनसिप डिसेम्बर २-१३ मा गराउने निर्णय गरेको छ ।

त्यस्तै एएफसी च्याम्पियन्स लिगको इस्ट जोनको खेलहरु नोभेम्बर १५ देखि १३ डिसेम्बरसम्म र वेष्ट जोनको खेल डिसेम्बरमा गर्ने निर्णय गरेको छ । एएफसीका अध्यक्ष शेख सल्मानले अहिलेको समय खेलकुदमा जोडिएका सबैका लागि कठिन समय भएको र खेलकुदका लागि पनि कठिन भएको बताए ।

कोरोना महामारी गर्दा चुनौती बढेपछि एएफसीको ३०औं कंग्रेस अनलाइनबाटै हुने भएको छ । यसअघि कंग्रेस डिसेम्बर ९ मा मलेसियाको क्वालालम्पुरमा गर्ने निर्णय भएको थियो । तर एएफसीको कार्यकारी समितिले अब अनलाइनबाटै कंग्रेस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्