नाबालक छोरासहित सडकमा अलपत्र सोलुकी एक महिलालाई कांग्रेस नेता कार्कीले दिए आश्रय



काठमाडौं, २४ भाद्र।कोराना भाइरसको त्रासका कारण घरबेटीले कोठामा छिर्न नदिएपछि नाबालक छोरा सहित सडकमा बस्दै आएकी एक महिलालाई मंगलबार उद्दार गरिएको छ।

सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं ५ सिम्ले घर भएकी ती बिमला खालिङ राई नामक ती महिलालाई नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघकी केन्द्रीय सदस्य डोल्मा तामाङको पहलमा काठमाडौंको कपनबाट उद्दार गरिएको नेबिसंघका नेता दिनराज बास्तोलाले जानकारी दिए।

माप्यदुधकोशी गाउंपालिका वडा नं ७ माइती भएकी राई गत असारमा पति रमेश बास्तोलासंग लकडाउनका बेला काठमाडौंबाट नेचासल्यान पुगेकी थिइन। पारिवारिक झगडाका कारण २ बर्षे छोरो लिएर काठमाडौं फर्किएकी राइलाइ घरबेटीले भित्र बस्न नदिएपछि केहिदिन चाबहिलस्थित एक गेष्ट हाउसमा बसेकी थिइन । गेष्ट हाउसमा पैसा तिर्न नसकेपछि त्यत्तिकै बेवारिसे बनेकी उनलाई नेतृ तामाङकी आफन्त लक्ष्मी तामाङ राइले फेला पारेपछि उनको उद्दारकार्य सुरु भएको थियो।

नाबालक छोरासहित उद्दार गरिएकी राइलाइ समाजसेवी समेत रहेका नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्कीको भक्तपुरको लोकन्थलीस्थित घरमा क्वारेन्टाइनमा राखिएको छ।राइका लागि आवश्यक सम्पूर्ण प्रबन्ध नेता कार्कीले नै गरिदिएको बास्तोलाले बताए ।

आफ्नै जिल्लाबासी चेली नाबालक बच्चासहित बेवारिसे अवस्थामा सडकमा भेटिएपछि उनलाई तत्कालका लागि आश्रय दिएको नेता कार्कीले रहस्यखबरलाई बताए।क्वारेन्टाइनको अवधि सकिएपछि परिवारको जिम्मा लगाउने वा अन्य बिकल्प खोज्ने भन्ने बिषयमा निर्णय लिने कार्कीले बताए।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका कार्की पछिल्लो समय समाजसेवामा निकै सकृय छन।कोरोना कहरले उत्पन्न गरेको संकटका कारण समस्यामा परेका जिल्लाबासीहरुलाइ ब्यक्तिगत रुपमा राहत उपलब्ध गराएपछि उनको जिल्लाभर प्रशंसा हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्