राजसंस्था जनताप्रति चिन्तित थियो,अहिलेका नेताहरू आफ्नैमात्र चिन्ता गरिरहेका छन



स्वर्ण विक्रम शाह
अध्यक्ष नेपाली युबाको आवाज

•कस्तो लागि रहेको छ, देशको राजनीति?

– के भन्ने देशको राजनितीको बारेमा । देशमा संविधान त बन्यो तर त्यसको कार्यान्वयन भने अहिले सम्म कुनै राजनितिक दल होस या नेताहरु कसैमा पनि भएको छैन र न त यिनीहरुले यो संविधान पालना नै गरेका छन् । सरकार प्रमुख र राष्ट्रप्रमुख नाम मात्रकै छन् भने संसद भनेको भ्रष्टाचार कसरी गर्ने भनेर छलफल गर्ने ठाउँ मात्र भएको छ । देशमा सम्बिधान आउनु भनेकै राष्ट्र विखण्डन गर्ने, जनतामा विभेद बढाउने, जातको नाममा एक आपसमा लडाउने, जनताका नाममा आफ्नो र आफ्नो नातेदार तथा ईष्टमित्रहरुको भुँडी भर्ने, हिन्दु र बुद्ध धर्ममा आक्रमण गर्ने मुख्य कारत भएको छ । झन अहिले आएर त देशमा आएको समस्यलाई नेता तथा मन्त्रीहरुको मागि खाने र जनताको नाममा आफुले कमाउने अवसर बनाएको सारा जनता सामु छर्लङ्ग छ ।

•  नेपालमा संघीयता पुर्ण रुपमा असफल भई सकेको यहाँको लेखहरुमा पढ्न पाईन्छ । यसको बारेमा के भन्नु हुन्छ?

– नेपालजस्तो सानो राष्ट्र जसको संविधानसभाको लागि भवनसमेत नभएर देशकै एकमात्र अन्तर्राष्ट्रिय कन्फ्रेन्स हललाई सांसद भवन बनाउन पर्ने अवस्थामाले नै यो सिद्ध गरि सकेको छ कि मुलुकले संघीयतालाई थेग्ने संभावना नै छैन भनेर । आम नेपाली जनतामा संघीयताबारे ज्ञानको अभाव यथावत् नै छ । त्यस माथि दलहरुले राष्ट्रले दिन नसक्ने माग जातीयराज्य, क्षेत्रीयराज्य र एक मधेश समुच्च तराई प्रदेशको मागले गर्दा दलबीच सहमतिको वातावरण सिर्जना हुन नसक्नु नै संघियता पुर्ण रुपमा असफल भई सकेको छ र यसमा दुई मत सम्म पनि छैन ।

• तपाईं अहिले पनि संधै जसो राजतन्त्रको वकालत गरिरहनु हन्छ,राजसंस्थाको पालामा चाहिँ जनतले के पाएका थिए र?

-एकचोटी आफ्नो अन्तरआत्मा राजसंस्था हुंदा र अहिलेको शासन ब्यबस्थालाई तुलना गरेर हेर्नुस् न, सजिलै जवाफ पाउनु हुन्छ । राजतन्त्र हुँदा देशमा रोजगारी थियो, जनताका सुरक्षा थियो, देशले दिन दुईगुना र रात चौगुणा प्रगती गरिरहेकाले नेपाली युवाहरु बिदेशीन परेको थिएन । अझै गार्मेन्टस् र गलैचा उत्पादन कार्यमा त ईन्डिया, पाकिस्तान र बंगलादेशबाट कालिगड, कटिङ्ग माष्टर लेराएर नेपालले रोजगारी दिन्थ्यो । अहिले हेर्नुस् देशमा कहाँ छ सरकारी कलकारखाना ? युवाहरुले रोजगार कहाँ छ पाएको ? हाम्रा युवाहरु त्यत्तिकै आफ्नो ईक्छाले बिदेसिएका हुन् ? अहिले देशमा फैलिएको कोरोना महामारीको समयमा हेर्नुस न नेपाल सरकार आफैं कोरोना जनस्तरमा फैलिसक्यो भन्दैछ तर सिंहदरवारका कर्मचारी, महानगर पालिका,सरकारी कार्यालयका कर्मचारी र पंहुचवाला ब्यक्तिको मात्र स्वाब टेष्ट गर्ने काम भइ रहेको छ।यसको अर्थ देशका मन्त्रीहरु र उच्च पधिकारीहरु चाँहि सुरक्षित हुन जनताहरु मरे मरुन् बाँचे बाँचुन भन्ने होईन र ? के जनताहरु नेपाली ह‍ईनन् ? के यी जनतामाथि सरकारको कुनै कर्तब्य या जिम्मेवारी छैन ? के यहि हो सम्बैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक सरकारका जनप्रतिनिधिहरुको दायित्व, कर्तव्य ? के यस्तै हुन्छ जनताले चाहेको जनताको सरकार ? यस्तो सरकारलाई जनताक‍ो सरकार भन्ने कि नेताहरुले आफ्नो ब्यक्तिगत र पारिवारिक स्वार्थ पुर्ति गर्ने सरकार भन्ने ? यी सब प्रश्न चिन्ह अहिलेको समयमा नेपाल सरकार चलाउने महानुभावहरु माथि त्यर्सिएको छ र यस प्रश्नबाट यो सरकार चलाउनेहरु भाग्न पाउने छैन । पंचायतकालमा पनि देशका कंयौ संकट आएको हनमी माझ सबैलाई थाहन नै छ, त्यस समयको सरकनरले कसरी छिटो भन्दा छिटो जनताहरुको समस्याप्रति चासो दिएर उक्त जनतालाई बचाएका थिए।सो समयमा राष्ट्र प्रमुख राजा आफै जनताका घर घरमा पुगिसकेको थियो तर अहिले हेर्नुस हाम्रा राष्ट्र प्रमुखहरु बालुवाटार र सितलनिवसमा बसेर राजनितीको फोहरी खेल खेलिरहेका छन् । अब तपाईं नै भन्नुस जनताले कुन ब्यबस्थामा सुख, सुबिधा, शान्ति र सुरक्षा पाएका थिए ?

•त्यसो हो भने राजसंस्थाको अन्त्यका लागि जनताले त्यत्रो आन्दोलन किन गरेका थिए त?

-सबै भन्दा पहिला त म के भन्न चाहन्छु भने नेपालमा राजससंस्था अन्त्यका लागि न त जनताले आन्दोलन नै गरे, न त गणतन्त्र जनताले ल्याएका हुन्।बिदेशीको बुइ चढेर नेताहरु हिंडेपछी देशको रक्षाका लागि राजा ज्ञानेन्द्रले जनतालाई सुम्पिएका मात्र हुन । अर्को कुरा राजाले त्यहि पुरानो पंचायती शैलीमा काम गर्‍यो भन्ने आरोप पनि लाग्ने गरेका छन। के २०१७ सालमा राजा महेन्द्रले यदि कु नगरेको भए के आज यो देश जिउँदो हुन्थ्यो ? राजा ज्ञानेन्द्रले त अझ जम्मा ३ बर्षको समयको माग गरेका थिए । यो तीन बर्षमा के हुन्थ्यो यो नेताहरुले बुझिसकेका थिए।त्यही भएर उनीहरू बिदेशीको बुइ चढे, नेताहरूले गरेको कुकर्मको परिणाम अहिले देश र जनताले भोग्नु परिरहेको छ। हाम्रो दुर्भाग्य धान खाने मुसो चोट पाउने भ्यागुतो भनेजस्तो भइ रहेको छ।

•मुलुकको अवस्था सुधार गर्न अब के गर्नुपर्छ त?

– राष्ट्रको अस्तित्व अहिले मर्ने की बाँच्ने दोसाँधमा छ । नेपाल अर्थात हाम्रो राष्ट्र मर्नु भनेको हामी सबै नेपालीहरुको अस्तित्व मेटिएर जिउदो लास सरह हुनु हो र कुनै पनि देशले एक पटक आफ्नो अस्तित्व गुमायो भने करोडौंको बलिदानले पनि त्यसको क्षतिपुर्ति हुन सक्दैन ।त्यसैले कुनै पनि पार्टी, राजनीतिज्ञ वा रास्ट्रसेबकहरुको कमजोरी वा मुर्खतालाइ माफ गर्न सकिएला तर उनीहरुको रास्ट्र प्रतिको बेइमानी वा गद्धारीलाइ माफ गर्न सकिदैन ! यस्ता गद्धारहरुलाई कठोर भन्दा कठोर दण्ड दिने अभियानका लागि अब जनता जाग्नुपर्छ। हाम्रा बीर गोर्खाली सहिदहरूले आफ्नो रगत र ज्यानको समेत बलिदान दिएर बचाएको यो हाम्रो मातृभूमि आज कति अतिक्रमित भएको छ ? हामी अब टुलुटुलु हेरेर बस्ने अवस्था छैन।

•जनता यहाँको भनाइमा सहमत होलान् र! जाग्ने सम्भावना कति देख्नुहुन्छ?

-००७ सालदेखि राष्ट्रवादी माथि हमला हुँदैआएको छ। जस्तै राजा महेन्द्र जस्ता देशप्रेमी र देशको हकहितमा सोच्ने दुरदर्शी राजालाई काम गर्न नदिनु । राजा महेन्द्रले जम्मा ९ बर्ष आफ्नो मर्जिले काम गर्दा देश कहाँबाट कहाँ पुग्यो ? यो त सबैलाई थाहा नै छ । त्यतिमात्र नभई ०४६ सालपछि त सञ्चार माध्यममा समेत राष्ट्रवादी संघ संस्था र व्यक्तिहरुलाई ओजेलमा पार्ने कार्य भएको थियो। देशभक्त भए कै कारण ०५८ जेठ १९ गते राजा श्री ५ वीरेन्द्र र राजपरिवारको आफ्नै बैठकमा हत्या भयो। राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सालिकमा हमलागर्दै तोडफोड गरियो, पृथ्वी जयन्ती तथा एकता दिवसमा विदा कटौती गर्नु। यसबाट के बुझिन्छ भने अहिले राष्ट्रवादीहरुलाई समाप्त पार्न ठूला दलहरु नै लागेका हुन।

• भन्ने गरिन्छ त्यति बेला पंचायती ब्यबस्थामा भन्दा अहिले नेपालको बजेट सयौं गुणा बढेको छ भने देश कसरी त्यस बेला भन्दा अहिले झन आर्थिक रुपमा खत्तम भयो र !
-हो त्यस समय भन्दा अहिले देहको बजेट धेरै बढि छ तर त्यो कसरी भयो ? त्यस समयमा देशमा हजारो ससानान कलकारखाना र सयौं ठुला कलकारखाना थिए । त्यो सबै अहिले बेचियको छ । उक्त बिक्री भएको पैशा त देशको हो नि, त्यो सबै पैशा त्यतिबेलाको बजेटमा जेडिने हो भने त नेपालको अहिलेको बजेटको ५० अौं गुणा बडि हुनु पर्ने, खै त सो रकम ? त्यतिबेलाको बजेटमा नेपालमै चलेको कलकारखानाबाट आएको ट्यक्सबाट बन्थ्यो भने अहिले बिदेशबाट आउने सहयोग र ऋण, रेमिट्यान्स र जनता माथिको उच्च करले बन्छ । यो कुरा जनताले बुझेका छन।

•अन्त्यमा केही भन्नुहुन्छ कि?

-हामी युवाहरु मिलेर अब नेपाल आमाको अस्थित्व बचाउँ। नेपाली जनतालाई मातृभूमिको अस्तित्वको महत्व र यसप्रतिको हाम्रो दायित्व र कर्तव्य के हो भन्दै बुझाउँदै बैचारिक आन्दोलनमा जुट्नु पर्ने समय आईसक्यो । अहिलेका नेताहरु जो संसदमा आउँदा च्याच्तिएको लुगा र नाङ्गो खुट्टा लगाएर आएका सम्पूर्णको २०४६ साल देखिको सम्पतिलाई राष्ट्रियकरण गरि यिनीहरुलाई देश निकाला गर्न पर्छ, राजालाई फेरि राज गद्दीमा राख्न पर्छ र मुख्य कुरा राष्ट्रिय अखडा, स्वतन्त्र राष्ट्र, नेपालको धर्म संस्कृति भेषभुषा इतिहास, भूगोल सीमाना, प्राचीन सभ्यता, चालचलन, भाषा भाषी र जातजातिको सुरक्षाको लागि यो थालनी गर्न पर्छ नत्र नेपाल भन्ने राष्ट्र भविष्यमा ईतिहासमा मात्र सिमित हुनेछ भुगोलमा होईन ।

प्रतिक्रिया दिनुहोस्