भ्रमण वर्षलाई लक्षित गरी पैदलयात्रा



काठमाडौं ६ फागुन । भ्रमण वर्ष २०२० लाई लक्षित गरी पहिलोपटक पैदलयात्रा हुने भएको छ । कालीगण्डकी बेँसी पाल्पाको रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिकालाई जोड्ने गरी सीताकुण्डदेखि रामडाँडासम्म पैदलयात्रा हँुदैछ । ‘उइ लभ पिपुल’ नामक संस्थाको आयोजनामा रामपुर नगरपालिकाले समन्वय गरी पैदलयात्रा गर्न लागेको हो ।

पर्यटनको प्रचुर सम्भावना बोकेको रामपुर चापाकोट क्षेत्रमा पर्यटकलाई पैदलयात्रामा सहभागी गराएर यहाँको पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्रको अवलोकन गराउन पैदलयात्रा कार्यक्रम आयोजना गरिएको हो । रामपुर नगरपालिकाको पर्यटकीय सीताकुण्डदेखि स्याङ्जा चापाकोट नगरपालिकाको पर्यटकीय रामडाँडासम्म पर्यटकलाई पैदलयात्रा गराउने कार्यक्रम तय भएको छ ।

दोस्रो रामपुर पर्यटन महोत्सव २०७६ को सन्दर्भ पारेर यही फागुन २४ गतेदेखि हुने साताव्यापी पर्यटन महोत्सवका अवसरमा पैदलयात्रा कार्यक्रम सञ्चालन गरिने तयारी भइरहेको हो । कालीगण्डकीको वारिपारि रहेको रामपुर र चापाकोट क्षेत्र पर्यटनका हिसाबले अत्यन्तै राम्रो भूगोल रहेको हँुदा भ्रमण वर्षलाई लक्षित गरी आयोजना गरिएको पैदलयात्रा कार्यक्रमले कालीगण्डकी बेँसी क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“पैदलयात्रा गराएर आन्तरिक पर्यटकका अतिरिक्त बाह्य पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो, पैदलयात्रामा सहभागीलाई रामपुर र चापाकोटका हेर्न लायकका तथा लोपोन्मुख ठाउँहरु अवलोकन गराउने व्यवस्था छ, यसबाट पनि यो क्षेत्रको पर्यटन विकासमा राम्रो प्रभाव पर्नेछ”, नगरप्रमुख थापाले भन्नुभयो ।

पैदलयात्रामा कम्तीमा २५ पर्यटकलाई सहभागी गराइनेछ । सहभागीका लागि खाना र आवासको व्यवस्थापन नगरपालिकाले गर्नेछ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भलाई सफल बनाउन र रामपुर चापाकोटको पर्यटन विकासलाई माथि उकास्न रामपुर नगरपालिकासँगको सहकार्यमा पहिलोपटक पैदलयात्रा कार्यक्रम गर्न लागेको ‘उइ लभ पिपुल’ संस्थाका अध्यक्ष निर्मल शाहीले बताउनुभयो ।

“यो क्षेत्रको पर्यटन विकासमा नयाँपन दिन र विशेषतः प्रदेशले दुई भागमा विभाजन गरे पनि रामपुर र चापाकोट क्षेत्रलाई पर्यटन विकाससँगसँगै अगाडि बढाउन, दुई ठाउँबीचको सम्बन्ध बढाउन यो कार्यक्रम गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । चापाकोटको रामडाँडाबाट शुरु गरी चापाकोट क्षेत्रका विभिन्न पर्यटकीय धार्मिक क्षेत्रको अवलोकन गराउँदै रामपुरको पर्यटकीय क्षेत्र भुजात सिद्धबाबाधाम, तालपोखरा, राम्चे दृश्यावलोकन स्तम्भ हँुदै सीताकुण्डसम्म पुग्ने कार्यक्रम तय भएको छ ।

दुई वर्षअघि स्थापना भएको यस संस्थाले सामाजिक कार्यमा काम गर्दै आइरहेको छ । सामाजिक सञ्जालमार्फत गठन भएको यो संस्थामा १४ जिल्लाका युवा आबद्ध छन् । यो क्षेत्रमा नै पहिलोपटक पैदलयात्रा हुने भएपछि यहाँका स्थानीयवासी उत्साहित भएका छन् ।

जलयात्रा र प्याराग्लाइडिङ उडान

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा कालीगण्डकीमा जलयात्रा र रामपुर उपत्यकाको अवलोकनका लागि प्याराग्लाइडिङ सञ्चालन हँुदैछ । पर्यटक विकास समिति रामपुर नगरपालिकाको आयोजनामा फागुन २४ गतेदेखि साताव्यापीरूपमा कालीगण्डकीमा जलयात्रा र रामपुरको बाहुनडाँडाबाट प्याराग्लाइडिङ सञ्चालन गरी रामपुर उपत्यकाको अवलोकन गराइनेछ ।

यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । नेपाल सरकारले शुरु गरेको भ्रमण वर्ष सफल पार्न रामपुरमा यस वर्ष न्यूनतम पाँच सय बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । साताव्यापीरूपमा गरिने पर्यटन महोत्सवका लागि पर्यटन बोर्डबाट रु पाँच लाख सहयोग आएको र आवश्यक सहयोग नगरपालिकाले गर्ने बताइएको छ । स्याङ्जा र पाल्पाको सिमानामा रहेको मालुङ्गाधामबाट कालीगण्डकीमा जलयात्रा शुरु गरी रामपुर नगरपालिका– ८ को पर्यटकीयस्थल सिद्धबाबाधाम भुजातमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ । उक्त अवसरमा रामपुर क्षेत्रमा रहेका विभिन्न जातजाति, समुदायको संस्कृतिको पर्यटकले अवलोकन गर्न पाउनेछन् ।

रामपुरमा रहेका विभिन्न पर्यटकीय तथा धार्मिक एवं ऐतिहासिक तीर्थस्थलको अवलोकन गर्न सकिनेछ । रामपुर नगरपालिकाको बेझाड बजारस्थित राममन्दिर रामचुलो तथा निर्माणाधीन रामजानकी मन्दिर, राम्चे दृश्यावलोकन स्तम्भ, रामघाट, लक्ष्मीनारायण धर्मशालालाई अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै केलादी, टापुधाम, सीताकुण्ड, तातोपानी गौशाला, बाहुनडाँडा, तालपोखरा, रामकुवा, खैरेनी सामुदायिक वन, भुजात सिद्धबाबा, च्याङलिङ्ग सिद्धबाबा मन्दिर, हेक्लाङ जल्पा मन्दिरलगायतका विभिन्न धार्मिक तथा पर्यटकीय एवं ऐतिहासिक क्षेत्रको अवलोकन गराउने तयारी गरिएको प्रचारप्रसार उपसमितिका संयोजक बुद्धिप्रकाश रेग्मीले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्षको अवसरमा रामपुर भ्रमण घुम्नका लागि बाह्य पर्यटकलाई निम्तो दिन विभिन्न ठाउँ–ठाउँमा पुग्ने कार्यक्रमको तयारी भइरहेको छ । पर्यटन महोत्सवका सन्दर्भमा काठमाडौँ, पोखरा, बुटवललगायतका विभिन्न स्थानमा प्रचारप्रसारको काम भइरहेको छ ।

जलयात्रा, प्याराग्लाइडिङ, पर्यटकीय तथा धार्मिक एवं ऐतिहासिक तीर्थस्थलको अवलोकन प्याकेजमा गराइनेछ । यसका लागि समितिले तोकेको समयभित्र नै टिकट बुकिङ गर्नुपर्नेछ । पर्यटन महोत्सवमा जलयात्रामा आएका पर्यटकलाई भुजात सिद्धबाबाधाममा टेन्टमा आवासको व्यवस्था गरिने र यस क्षेत्रको पर्यटकीय वातावरणसँग रमाउने वातावरण मिलाइनेछ । कालीगण्डकीलाई पारिवारिक जलयात्राका लागि अति उत्तम मानिन्छ । विज्ञसहितको टोलीले यसभन्दा अगाडि जलयात्रको सफल परीक्षण सकेको छ । बाहुनडाँडाबाट छ र लोस्दीबाट परीक्षणका रूपमा १६ वटा प्याराग्लाइडिङ उडान सफल भएपछि यसको व्यावसायिकतामा रामपुर नगरपालिकाले जोड दिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्