कोरोना : भिडभाड र भेला हुने कार्यक्रम नगर्न थुलुङ दुधकोशीको अपिल
सोलुखुम्बु ६ श्रावण । थुलुङ दुधकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य ब्यक्तिहरुमा संक्रमण फैलन नदिन बिशेष सतर्कता अपनाउने भएको छ।

गाउँपालिकाको वडा नम्बर ५ जुबुको ३२ बर्षिय र वडा नम्बर ७ का देउसाका ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार गाउँपालिकाले संक्रमण फैलिन नदिन नेले, देउसाको रोक्ति र शुक्रबारे, लोखिमको सोमबारे र जुबुको सुकेबजार लगायतका साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अबिलाल राइले जानकारी दिएका छन। राइका अनुसार गाउँ पालिकाको अध्यक्षस्तरीय निर्णयबाट गाउँपालिका भित्र भिडभाड हुने सबै प्रकारको भेला तथा कार्यक्रम स्थगित गर्ने निर्णय पनि गरिएको छ।
संक्रमण देखिएको वडा नम्बर ५ र ७ को क्वारेन्टाइन वरिपरीका सबै होटल, पसलहरु समेत अर्को व्यवस्था नभएसम्म बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राइद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । गत असारमा साउदीबाट आएका पालिकाका दुई ब्यक्तिमा सोमबारमात्रै कोरोना पुष्टि भएको थियो।
राइले कोरोना संक्रमणबाट जोगिन सामाजिक दुरी कायम राख्न, नियमित साबुनपानीले हातधुन र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न पालिकाबासीसमक्ष अपिल समेत गरेका छन।

