अनावश्यक रूपमा स्वास्थ्य परीक्षण नगराउन स्वास्थ्य बीमा बोर्डको आग्रह
काठमाडौं,१९ असार । स्वास्थ्य बीमा बोर्डले अनावश्यक रूपमा स्वास्थ्य परीक्षण नगर्न/ नगराउन सबै बीमितमा अनुरोध गरेको छ । बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ताे अनुराेध गरेकाे हाे ।

सेवा प्रदायक संस्थाहरूलाई सात महिनादेखिको रकम भुक्तानी गर्न बाँकी रहेकाे भन्दै बाेर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउने भनेको हो । गत मंसिर मसान्तसम्मको मात्र रकम भुक्तानी भएको बोर्डले जनाएको हो ।
बोर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन आग्रह गरेको छ ।
‘सम्पूर्ण बीमित सेवाग्राहीहरूलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएकाे छ ।

