सार्वजनिक सवारीसाधन तथा मालवाहक गाडीको घटेको भाडादर आजदेखी लागू



काठमाडौं,१९ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा गरेको भारी कटौतीपछि अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक सवारीसाधन तथा मालवाहक गाडीको भाडा पनि घटाइएको छ।

यातायात व्यवस्था विभागले बिहीबार (असार १८/जुलाई २) देखि लागू हुने गरी अन्तरप्रदेश सार्वजनिक सवारी र मालवाहक सवारीको भाडा २ प्रतिशतले घटाएको जनाएको छ।

विभागका अनुसार स्वचालित भाडा प्रणाली (Automatic Fare System) अन्तर्गत इन्धनको मूल्यमा आएको कमीलाई आधार मानेर नयाँ भाडादर निर्धारण गरिएको हो।

नयाँ भाडादर आजदेखि देशभर लागू भएको विभागले स्पष्ट पारेको छ। विभागले सबै यातायात व्यवसायीलाई संशोधित भाडादर अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिँदै यात्रुले पनि नयाँ दरअनुसार मात्रै भाडा तिर्न आग्रह गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन गरिएकाले दैनिक यात्रा गर्ने यात्रु तथा माल ढुवानी क्षेत्रमा केही आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्