सोलुखुम्बु : पीसीआर परिक्षणपछि मात्रै बिदेशबाट आएकाहरुलाइ जिल्ला पठाउन माग



सोलुखुम्बु, ६ साउन । जिल्लाका सबै स्थानीय तहहरूले बिदेशबाट नेपाल फर्किएका सोलुखुम्बुलीहरुको पीसीआर परिक्षण तथा उपचार सम्बन्धित होल्डिङ सेण्टरमा गरेरमात्रै जिल्ला पठाउन केन्द्र तथा प्रदेश सरकारसँग आग्रह गरेका छन।

गाउँमा रहेका क्वारेन्टाइनबाट स्वाब संकलन गरि पीसीआर परिक्षण केन्द्रसम्म पुर्‍याउन भौगोलिक बिकटता , प्रबिधि र दक्ष स्वास्थ्यकर्मीको अभावका कारण चुनौतीपूर्ण र कठिन भएको भन्दै सोलुखुम्बुका आठवटै स्थानीय तहका प्रमुखहरुले संयुक्त रुपमा सो आग्रह गरेका हुन। कोरोना संक्रमणलाई समुदायसम्म फैलन नदिन सबैपक्ष सजग र सतर्क हुनु पर्ने भन्दै जिल्लालाई कोरोनामुक्त बनाउनका लागि सबै तहहरु एकीकृत रुपमा प्रयासरत रहेको स्थानीय तहका प्रमुखहरुद्वारा मंगलबार प्रकाशित संयुक्त अपिलमा उल्लेख गरिएको छ।

सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पा, थुलुङ दुधकोशीका अध्यक्ष अशिम राई,नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, महाकुलुङका सागर किराँती, माप्यदुधकोशीका बुद्धिकिरण राई,सोताङका बीरबहादुर राई र खुम्बु पासाङल्हामु गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासील्हामु शेर्पाद्वारा संयुक्त रुपमा हस्ताक्षरित अपिलमा एकैचोटी गाउँआउँदा समुदाय स्तरमा संक्रमण फैलन सक्ने खतरासमेत औंल्याइएको छ।

लिुखपिके गाउँपालिका अध्यक्ष बाहेकका स्थानीय सरकार प्रमुखको हस्ताक्षर रहेको अपिल पत्रमा बैदेशिक रोजगारीबाट आएकालाई होल्डिङ सेन्टरबाट सिधै संबन्धित जिल्ला या पालिका पठाउँदा जोखीम बढेको भन्दै थप सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख गरिएको छ । महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय सरकार जिम्मेवार ढंगबाट काम गरिरहेको भन्दै गाउँपालिकामा श्रोत साधान तथा जनशक्ति समेत अभाव हुँदा चुनौती थपिएको ठहर गरिएको छ ।

तीन तहको सरकारबीचको समन्वय र स्थानीयको थप सजगताले पनि महामारी रोकथाम गर्न सकिने थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको भनाई छ । सोमबार मात्रै बैदेशिक रोजगारीबाट जिल्ला फर्किएका ४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्लामा कोरोना भाईरसका संक्रमित भेटिएपछि थप स्वास्थ्य सतर्कता अपनाईएको छ । यस अघि पनि जिल्लाका एक पुरुष कोरोना उपचार पछि घर फर्केका छन् ।

 

प्रतिक्रिया दिनुहोस्