नेकपा विवाद : ओलिले गल्ती महसुस गर्ने, प्रचण्डहरुले माफी दिने !



काठमाडौं, २८ असार ।केही समययता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा देखिएको शक्ति संघर्ष र विवाद अब विस्तारै सामसुम हुँदै गएको छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कासँग सहमति गर्ने सम्भावना बढेसँगै यो विवाद विस्तारै मत्थर हुँदै गएको हो ।

कुनै समय पार्टी विभाजनको तहसम्म पुगेको भन्दै नेकपामा विवाद उत्कर्षमा पुगेको थियो । तर, पछिल्लो समय स्थायी कमिटी बैठकलाई स्थगन गर्दै दुई अध्यक्ष निरन्तर वार्तामा बस्न थालेपछि निम्तिएको विवाद विस्तारै कम हुँदै गएको हो ।

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो पटक बिहीबार भेटघाट भएको थियो । यो भेटघाटमा उनीहरुबीच के कुराकानी भयो भन्ने अहिलेसम्म बाहिर आएको छैन ।

तर, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र शनिबार पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै ठाउँमा गरेका सम्बोधनमा उस्तै अभिव्यक्ति आएको थियो । योसँगै उनीहरुबीच भएको विवाद कम हुँदै गएको हुनसक्ने अनुमान गरिएको छ ।

यसबीचमा प्रचण्ड समूहले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने माग उठाएको थियो । नेकपाका अन्य नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले पनि यही आवाज उठाएका थिए । तर, दोस्रो तहका नेताहरुले यसले पार्टी दुर्घटनामा पर्ने भन्दै शीर्ष नेताहरुलाई बारम्बार संवादबाट सहमती गर्न अनुरोध गर्दै आएका थिए ।

पछिल्लो समय चिनियाँ राजदूत होउ याङ्छीले समेत आफ्नो सक्रियता बढाएकी थिइन् । जानकारहरु उनले नेकपाका विभिन्न नेताहरुलाई भेटघाट गरेर र फोन सम्पर्कबाट समेत बेइजिङको चाहना सरकार परिवर्तन नहोस् र नेकपा विभाजन नहोस् भन्ने रहेको सन्देश प्रवाह गरेकी थिइन् ।

‘देशमा कोरोनाको अवस्था, प्राकृतिक विपत्ति तथा अहिलेको समयमा एकजुट हुनु पर्ने भएकाले पनि अहिलेका लागि नेकपामा उठेका विभिन्न विवादलाई थाँती राखौँ वा सहमतीमा त्यसको निकास निकालौँ भन्ने हो,’ नेकपामा प्रधानमन्त्री केपी ओलीनिकट एक केन्द्रीय सदस्यले भने, ‘अब दुवै पक्ष लचिलो भएको देख्न सकिन्छ, त्यसैले पछिल्लो समयको विवाद अब कम भएको छ ।’

उनले प्रचण्ड समूहले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिनु पर्छ भन्ने माग फिर्ता लिने सम्भावना बढेको र ओलीले पनि यसअघिका गल्तीलाई महसुस गर्दै नयाँ शिराबाट अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्