मापदण्ड पूरा गरी ट्याक्सी चलाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन
काठमाडौ २४ असार । अब सडकमा निर्वाध रुपमा टयाक्सी चल्न पाउनेछन । बुधबार सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुको छलफलपछि विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सञ्चालन गर्न दिन संसदीय समितिले निर्देशन दिएसंगै अब केही दिनमै टयाक्सी चलाउन पाइने भएको छ ।
सरकारले तयार पारेको मापदण्डअनुसार विभिन्न पेसा, व्यवसाय सञ्चालन भएको अवस्थामा आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सेवा सञ्चालन गर्न समितिले निर्देशन दिएको हो ।

लकडाउनको कारण चैत ११ गतेबाट सार्वजनिक यातायात बन्द रहेका छन् । समितिमा भएको छलफलमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुले लकडाउनको कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्या गर्ने अवस्थासमेत सिर्जना भएको गुनासो गरेका थिए ।
अहिलेको अवस्थामा बैंकको ऋण तिर्नसमेत समस्या भएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सार्वजनिक यातायात सञ्चालनको लागि मन्त्रालय, सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० लगायतका सरोकारवालासँग बिहीबार छलफल गर्ने तयारी समितिले गरेको छ ।