दाङमा वडाध्यक्षसहित थप १३ जनामा कोरोना पुष्टि



दाङ ८ असार । जिल्लामा सोमबार थप १३ जना कोरोना पुष्टि भएको छ। संक्रमित सबै घोराही उपमहानगरका हुन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा संक्रमित घोराही उपमहानगरपालिका–२ का वडाध्यक्षलाई समेत कोरोना पुष्टि भएको हो।
जेठ २४ गते स्वाब संकलन गरिएको र सोमबार १६ दिनपछि रिपोर्ट आउँदा वडाध्यक्षलाई कोरोनाको संक्रमण देखिएको हो। त्यसैगरी संक्रमित हुनेहरुमा घोराही २ का १७, २२ र ३८ वर्षका पुरुष, वडा नम्बर ३ का २३ र ३० वर्षका पुरुष, वडा नम्बर ६ का १६, १९, २३, २३, २५, ३२ र ३७ वर्षका १ महिलासहित ५ पुरुष र वडा नम्बर ५ का ३१ वर्षका १ पुरुषमा कोरोना संक्रमण भएको प्रतिष्ठानले जनाएको छ।
घोराही उपमहानगरको मावि वुका र आधारभूत विद्यालय भैसकुरबाट संकलन भएको २ सय ६७ जनाको स्वाबमध्ये ३७ जनाको स्वाब परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो। योसँगै घोराहीमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ। डिस्चार्ज भने ४४ जना भएका उपमहानगर स्वास्थ्य शाखाले जनाएको छ। योसँगै दाङमा अहिलेसम्म संक्रमितको संख्या २ सय ८५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्