अध्यक्ष शेर्पाको निधनले सोलु नेकपा स्तब्ध : सचिवालय बैठक स्थगित,पार्टी झण्डा तीन दिन झुकाइने
सोलुखुम्बु , २ असार।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सचिवालयको बैठक स्थगित गरिएको छ।
मंगलबारका लागि तय गरिएको सो बैठक पार्टी जिल्ला कमिटीका सचिवालय सदस्य एबम खुम्बुपासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाको निधन भएका कारण अर्को सूचना नहुन्जेलसम्मका लागि बैठक स्थगित गरिएको जिल्ला कमिटी सचिब गोम्बु शेर्पा (कर्ज्याङ) ले जानकारी दिए।
अध्यक्ष शेर्पाको क्यान्सर रोगका कारण ३ ८ बर्षको उमेरमा आफ्नै निबास लुक्लामा सोमबार निधन भएको थियोे । उनको निधनपछि आकस्मिक रुपमा बसेको जिल्ला कमिटी कार्यालयको बैठकले श्रद्धाञ्जली स्वरुप जिल्ला पार्टी कार्यालयसहित स्थानीय कार्यालयहरुमा ३ गतेदेखि ५ गतेसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको अध्यक्ष मानबीर राई र सचिब शेर्पाद्वारा संयुक्तरुपमा जारी शोक बक्तब्यमा उल्लेख गरिएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका निर्माण अभियानका अगुवा अध्यक्ष शेर्पाको निधनले जिल्ला कमिटी पार्टीपंक्ति र सो गाउँपालिका आम जनसमुदाय स्तब्ध भएको उल्लेख गर्दै शोक बक्तब्यमा दिवंगत नेता शेर्पाको आत्मशान्तिका लागि श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन,आफन्तजन, सिंगो पार्टी पंक्ति र खुम्बु पासाङल्हामु गाउँपालिका निबासी आम जनसमुदायलाई धैर्यधारण गर्न अनुरोधसहित समबेदना व्यक्त गरिएको छ।