संसदबाट नयाँ नक्सा पारित भएपछि धादिङको थाक्रेमा दीप प्रज्वलन



लावण फुयल
धादिङ, जेठ ३१
नेपालको नयाँ नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रस्ताव प्रतिनिधि सभावाट पारित भएको खुसियालीमा आज धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेशी वजारमा दीप प्रज्वलन गरिएको छ ।
स्थानीय राजनीतिक पार्टीका प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाप्रेमी, व्यवसायी तथा समाजसेवीसहितको उपस्थितिमा नेपाल सरकारले छिमेकी मुलुक भारतले विगत लामो समयदेखि अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपाली भूमि फिर्ता लिनको लागि सरकारले राष्ट्रियताको पक्षमा यस्तो ऐतिहासिक कदम अगाडि बढाएकोमा हार्दिक धन्यवादसहित नेपाल र नेपालीको गौरव बढाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बोल्दै नेकपा जिल्ला कमिटी धादिङका सदस्य गोकर्ण रुपाखेतीले सरकारको उक्त कदमको स्वागत गर्दै राष्ट्र र राष्ट्रियताको पक्षमा देश एकजुट हुनुपर्ने भन्दै कुटनीतिक तवरवाट आफ्नो अतिक्रमित भूभाग फिर्ता गर्न सरकारले अव भारतसँग चाँडै वार्ता शुरु गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रतिनिधि सभामा बहाल रहेको २७५ सदस्यमा बैठकमा उपस्थित सबै अर्थात् २५८ जनाले नै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई सर्वसम्मत अनुमोदन गरेका थिए । संविधानत ः संविधान संशोधनका लागि आवश्यक दुई तिहाई अर्थात् १८४ मत आवश्यक पर्नेमा अद्यावधिक नक्सालाई संविधानको अंग बनाउने उक्त संशोधन प्रस्तावमा भने संसद बैठकमा उपस्थित सबैले एकसाथ मत दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्