डेढ अर्ब बढी घट्यो कोरोना नियन्त्रण खर्च, झण्डै सांढे ८ अर्बको हिसाब सार्बजनिक
काठमाडौं,३१ बैशाख । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गरेको खर्चको विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरणअनुसार कोरोना नियन्त्रणमा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार कूल खर्च भएको देखिएको छ ।
सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार सार्वजनिक गरिएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत् खर्चको विवरण सार्वजनिक गरेका हुन् ।
संघीय सञ्चित कोषबाट ४ अर्व १० करोड ५५ लाख ६ हजार खर्च भएको विवरणमा उल्लेख छ । त्यस्तै औषधी, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेनटाइन र अन्यमा ५ अर्ब ६१ करोड ९२ लाख ४० हजार खर्च भएको बताइएको छ ।
प्रदेश सरकारहरुले १ अर्ब ३० करोड ४ लाख ९१ हजार रुपैयाँ खर्च गरेको पनि खर्च विवरणमा उल्लेख गरिएको छ । स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लख ९४ हजार रुपैयाँ खर्च भएको विवरण छ । कोरोना नियन्त्रणका लागि बनाइएको सरकारी कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको विवरणमा उल्लेख छ ।
यसअघि सरकारले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि १० अर्ब रुपैयाँ बराबर खर्च भएको सार्वजनिक गरेको थियो । १० अर्ब खर्च भएको सार्वजनिक भएपछि सडकदेखि सदनसम्म १० अर्ब कहाँ कहाँ खर्च भयो भनेर प्रश्न गर्न थालिएको थियो ।