नेपाल प्रवेश गर्यो मनसुन,होशियारी अपनाउन मौसम बिज्ञान बिभागको आग्रह
काठमाडौं,३१ जेठ।नेपालमा यश बर्ष शुक्रबार बेलुकी देखि मनसुन प्रवेश गरेको छ।सामान्यतया जून १० मा मनसुन नेपाल प्रवेश गर्नुपर्नेमा २ दिन ढिलागरी दक्षिण पूर्वीभागबाट नेपालमा मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
२७, २८ जेठमा प्रवेश गरेको मनसुन ६, ७ असोजमा बहिर्गमन हुने गर्दछ। मनसुनको औसत आगमन र बहिर्गमनको आधारमा नेपालमा मनसुनको अवधि करीब १ सय ५ दिनको हुन्छ।
यस वर्ष भने २ दिन ढिला गरेर मनसुन नेपालमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधि १९ जेठ देखि १४ असोजसम्म सरदर वर्षा हुने आकलन गरेको छ।
मनसुन प्रवेशसँगै मौसमी गतिविधि बढ्ने सम्भावना भएको हुँदा आवश्यक सतर्कता अपनाउन र मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारीमा लाग्नु जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व पश्चिम बनेको न्यून चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।
जसले गर्दा सातै प्रदेशका सीमित स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।