दैनिक राहत बितरण गर्दै हिरा
काठमाडौं ३० जेठ । कोरोना भाइरसका कारण भएको लकडाउनमा अरुको दुःखलाई पनि आफ्नै समस्या ठान्ने कमै भेटिन्छन् । लकडाउनका कारण दैनिक गुजारा गर्न नपाएकाहरु कति दिन भोकै परे त कतिले अकालमै ज्यान गुमाए । केही व्यक्ति तथा संघसंस्थाहरुले भने पीडितको जीवन सहज होस् भनेर राहत बाँडे ।
यस्तै एक उदाहरण हुन् ज्ञानेश्वर काठमाडौकी हिरा पाण्डे । धर्मप्रति अत्यन्तै आस्था र विश्वास राख्ने, अरुको भलाईलाई नै आफ्नो सन्तुष्टि सम्झने उनले चैत्र २२ गतेबाट निरन्तर राहत वितरण गर्दै आएकी छिन् । उनले सुरुमा बिहान बेलुकै समस्यामा परेकालाई चामल, दाल, चिउरा, नुन, आलु, भुजा र आवश्यक अन्य सामग्री उपलव्ध गराउँदै आएकी थिइन् । तर अहिले भने प्रायजसो बिहान राहत बाँड्ने गर्छिन् । दैनिक सेवा गर्न पाइन भने मलाई पछुतो लाग्छ, कसैलाई दिएर खान पाएँ भने आत्मा नै खुशी हुन्छ भन्ने उनी राहत दिँदादिँदै आफ्नो केही सकियो भने पनि चिन्ता नमान्ने बताउँछिन् । जर्मन राजदुतावास नजिकै मन्दिर छेउमा घर भएकी उनी राहत वितरण गर्न पाएकामा धेरै गौरव गर्छिन् । तर यो कसैले कहिल्यै पनि नसोचेको परिस्थिति आएकामा भने उनलाई दुःख लागेको छ ।
यो असहज अवस्थामा सबैलाई सजग र सचेत रहन आग्रह गर्ने उनी घरमै बोलाउँछिन् र गेटबाट सामग्री लान आग्रह गर्छिन् । उनी दिनभर सामग्री पोको पारेर बस्ने गर्छिन् । कोही अत्यन्तै समस्यामा परेको भए दिउँसो पनि भेट गर्ने गर्छिन् उनी । आजभोलि उनको दैनिकी चामल, तेल, नुन र अरु पोको पार्दैमा बितेको छ । उनले अहिलेसम्म राहत वितरण गरेकाहरुको नाम, फोन नम्बर र ठेगाना राखेकी छिन् । फोन आउँछ अनि कुरा गर्छु, जो पनि मेरोमा आउन सक्नुहुन्छ भन्ने हिरालाई दैनिक धेरै रकम खर्च गर्नुपरेकामा दुःखभन्दा बढी खुशी छ । उनी हामी त भगवानले खटाएका काम गर्न पठाएका पात्रमात्र हौं भन्छिन् । आफूकहाँ आउन नसक्ने र शारीरिक अशक्तता भएका वा अन्य कारणले नसकेकालाई घरमै राहत लगिदिने गरेको उनको भनाई छ । उनले घरमा मात्र होइन अन्य ठाउँमा पनि सेवा गरेकी छिन् । कहिलेकाँही टाढाका मानिसमा समस्या परेको छ भन्ने सुनें भने त्यतैका पसल वा चिनेजानेका मानिससँग समन्वय गरेर सक्दो सहयोग गर्छु भन्छिन् उनी ।
भगवानले नै मलाई राहत बाँड्नु भनेर पठाएको हो भन्ने उनी यो संसारमा अचम्मको लिला भएको बताउँछिन् । नसोचेको अवस्था आयो, मलाई सेवा गर्न जुरेको रहेछ भन्छिन्् उनी । वडा नम्बर ३० मा बस्ने उनलाई वडाका प्रतिनिधिले पनि कहिलेकाँही मानिस पठाउने गरेका छन् । उनले अहिलेसम्म सहयोग गर्दा कसैबाट सहयोग लिएकी छैनन् र लिन मन पनि नगरेको बताउँछिन् । सहयोग मागेको भए जहाँ पनि पाइन्थ्यो र अरुले पनि केही गर्नुपर्छ कि भनेर भन्ने गरेको सुनाउँदै उनले आफूलाई यसैमा सन्तुष्टि लागेको दावी गर्छिन् । उनी लकडाउनभर यो सामाजिक काममा सक्रिय रहने बताउँछिन् । उनले आफू धेरै लामो समयदेखि सामाजिक र धार्मिक क्षेत्रमा लागेको स्पष्ट पारेकी छिन् । गरेको भरसक चर्चा गर्न र प्रचार गर्नु आवश्यक ठान्दिन भन्ने उनी कसैको पनि अहित र कुभलो नचिताउनु नै मानवीय कर्तव्य भएको बताउँछिन् ।