विद्यार्थीको घरघरमै पुस्तक पुर्याउने सरकारी योजना, स्थानीय तह र सबै विद्यालय परिचालन गरिने
(फाइल फोटो) काठमाडौँ, २५ जेठ ।लामो समयदेखि बन्दाबन्दीको मारमा परेका लाखौं विद्यार्थीहरुलाइ सरकारले घरघरमै पाठ्यपुस्तक पुर्याइदिने योजना बनाएको छ।
आगामी असार १ गतेदेखि बैकल्पिक माध्यमबाट कक्षा सुचारु गर्ने गरि कार्यबिधी बनाएको सरकारले स्थानीय तह र देशभरका विद्यालय परिचालन गरि विद्यार्थीको घरघरमै पाठ्यपुस्तक उपलब्ध गराउने तयारी गरेको समाचार आजको गोरखापत्रले छापेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमलाई उदृत गर्दै प्रकाशित कोरोना सो समाचारमा कोरोना भाइरस सङ्क्रमणको त्रास कायमै रहेको तथा विद्यार्थी विद्यालयमा आउन सक्ने अवस्था नभएकाले विद्यार्थीलाई घरमै पुस्तक पुर्याउने योजना बनाइएको हो। सरकारको योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ ।
वैकल्पिक विधिबाट अध्यापन गरिने भए पनि विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्न सकेको अवस्थामा विद्यार्थीको सिकाइ प्रभावकारी हुने भएकाले पुस्तक पुर्याउने योजना बनाइएको हो । प्रविधिको पहुँच पुगे या नपुगे पनि पनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्ने र यो विद्यार्थीको न्यूूनतम आवश्यकता भएको उनको भनाइ छ । सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरनिर्देशिका–२०७७ हालै सार्वजनिक गरेको छ ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले असार १ बाट मुलुकभरका विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिने घोषणा गरिएको थियो । विपद् या महामारीका कारणले नियमित पठनपाठन हुन गर्न कठिन भएको वा हुने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायत वैकल्पिक माध्यम वा पद्धतिबाट गरिने अध्ययन अध्यापनलाई वैकल्पिक विधि मानिएको छ ।