जनजागृति मा.वि. ले विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणको लगि शिक्षक तथा स्वयम्सेवक परिचालन गर्ने



धादिङ, जेठ २३

वागमती प्रदेश धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ६ मा अवस्थित जनजागृति माध्यमिक विद्यालयले शैक्षिक सत्र वि.सं.२०७७ का लागि विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण गर्ने भएको छ । विद्यालयले आफनो सेवाक्षेत्रका विभिन्न वडाहरुमा अभिभावक तथा विद्यार्थीहरुलाई पायक पर्ने स्थान निर्धारण गरी पाठ्यपुस्तक वितरण गर्ने छ भने विद्यार्थी भर्नाको लागि अनलाइनमार्फत् विद्यालयमा कार्यरत शिक्षक तथा अन्य स्वयम्सेवकसमेत परिचालन गरी भर्ना आवेदन फारम भरिने विद्यालयका प्रधानाध्यापक लावण प्रसाद फुयलले रहस्य खवरलाई जानकारी दिनुभयो । हाल विश्वभर फैलिरहेको कोरोना संक्रमणका कारण चैत्र ११ देखि निरन्तर रहेको बन्दाबन्दीको वर्तमान अवस्थामा भर्ना एवम् पाठ्यपुस्तक वितरणसम्बन्धी अभिभावक र विद्यार्थीमा रहेको अन्यौलतालाई हटाउन तथा कोरोना रोकथाम एवम् सुरक्षाका उपायबारे विद्यार्थी, अभिभावकलाई सुसूचित गर्नसमेत शिक्षक एवम् स्वयम्सेवक परिचालन गर्ने तयारी गरिएको प्रधानाध्यापक फुयलले वताउनुभयो । विद्यालयले जेठ २५ र २६ गते विद्यार्थी भर्नाको लागि सामाजिक दुरी कायम गर्दै घरदैलो अभियान सञ्चालन गर्ने छ भने २८ गते सेवाक्षेत्रभित्रका वडा नं.२ को चालिसे र लप्सेवगर, वडा नं ६ को नौकिला र विद्यालय प्राङ्गण, वडा नं ७ को सातकिला, वडा नं १० को फुटवल खेलमैदान दोभाने र वडा नं ११ को वालुवाफाँट वगैचामा पाठ्यपुस्तक वितरण गर्ने छ ।
यसैगरी बन्दाबन्दीको समयमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वि.सं २०७७÷०२÷१८ गते जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका अनुसार सवै किसिमको प्रविधिको पहुँचभन्दा वाहिर रहेका विद्यार्थी समूह, रेडियो तथा एमएम रेडियोमा पहुँच भएका विद्यार्थी समूह, टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूह, कम्प्युटर भएका तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह र इन्टरनेट तथा सूचना प्रविधिका साधनमा पहँुच भएका विद्यार्थी समूह गरी ५ भागमा विद्यार्थीको पहिचान तथा वर्गीकरण भर्ना अभियानकै क्रममा गर्ने र आगामी असार १ गतेदेखि सोही आधारमा विद्यार्थीको समूह विभाजन गरी वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने विद्यालयले जनाएको छ । जुम एप्स प्रविधिमार्फत् आज बसेको स्टाफ तथा वि.व्य.स.को संयुक्त बैठकबाट आफ्नो सेवाक्षेत्रका फिडर विद्यालयहरुको समेत शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि वि.व्य.स. अध्यक्ष गोकर्ण रुपाखेतीको संयोजकत्वमा पूर्ण बहादुर कार्की (वडाध्यक्ष, वडा नं ६), रविप्रकाश ओझा (वडाध्यक्ष वडा नं ११), राजकुमार पौडेल (वडाध्यक्ष वडा नं २), प्रधानाध्यापक लावण प्रसाद फुयल, सहायक प्रधानाध्यापक रामचन्द्र रुपाखेती, शिक्षक विमल थापा, शिक्षक निशा मल्ल सहितको एक कार्यदल तयार गरिएको छ । उक्त कार्यदलले थाक्रे गाउँपालिका, स्थानीय शिक्षाप्रेमी तथा बुद्धिजीवी र सम्बन्धित क्षेत्रको समुदायसँगको सहकार्यमा फिडर विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिको लागि आवश्यक योजना तयार गरी कार्यान्वयन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेतीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्