लकडाउन लम्बिएपछि ब्यबसायी चिन्तित,विकल्प खोज्न सरकारसंग आग्रह
काठमाडौ, २० जेठ।सरकारले पछिल्लो पटक जेठ ३२ गतेसम्मका लागि लकडाउनको अवधि बढाएपछि त्यसको चौतर्फी बिरोध सुरु भएको छ।सामान्य नागरिकहरुको अवस्था र उद्योगी- ब्यबसायीहरुको सुझावलाई पूर्ण बेवास्ता गर्दै सरकारले मनोमानीपूर्बक लकडाउनलाइ निरन्तरता दिन थालेपछि यसको विकल्प खोजीनु पर्ने आवाज जोडदाररुपमा उठ्न थालेको हो।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण को जोखिम न्यूनीकरणकरणका लागि भन्दै सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेको थियो।सरकारले त्यसयता एकै किसिमको लकडाउनलाइ लम्ब्याउंदै जान थालेपछि निजी क्षेत्रबाट औपचारिक रुपमै त्यसको बिरोध सुरु भएको छ।
आइतवार नेपाल उद्योग वाणिज्य महासंघले लकडाउन खुकुलो बनाउन माग गरेको थियो । त्यसलगत्तै महासंघसँग आबद्ध संघ तथा अन्य संगठनले पनि लकडाउनको विरोध गरेका छन् । सोमवार नेपाल विज्ञापन संघ, नेपाल विद्युतीय व्यवसायी महासंघ र नेपाल समुद्रपार निकासी पैठारी संघले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै लगातार गरिएको लकडाउनप्रति आपत्ति व्यक्त गरेका हुन् । लकडाउनका कारण समग्र आर्थिक क्षेत्रमा असर परेकाले सरकारले लकडाउनको समयसीमा र मोडालिटीबारे पुनर्विचार गर्नुपर्ने उनीहरूको माग छ ।
लकडाउनका कारण आम सर्वसाधारण जनता एवं उद्योग, व्यवसाय, कल कारखाना, सेवा क्षेत्र, आमसञ्चार क्षेत्रमा पर्ने असरलाई दृष्टिगत गर्दै लकडाउनबारे पुनर्विचार गर्नुपर्ने नेपाल विज्ञापन संघको माग छ । संघले स्वास्थ्य सुरक्षाका लागि अन्य उपाय खोजेर लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने बताएको छ । उद्योग, व्यवसाय, निरन्तर बन्द गर्दा अर्बौं रुपैयाँ बराबरको लगानी समेत जोखिममा परेको संघले औंल्याएको छ ।
संघले भनेको छ, ‘राज्यको सामु अहिले दुई प्रमुख चुनौती छन्, एक आमसर्वसाधारणको बचाउ र अर्कोतर्फ आर्थिक क्रियाकलाप पुनः सञ्चालन । त्यसका लागि उद्योग व्यवसायीले सुरक्षित तवरबाट व्यवसायको क्रमिक सञ्चालन गर्ने र सरकारवाट पनि त्यसको उचित वातावरण बनाउन सुरक्षाकर्मी परिचालन र धेरैभन्दा धेरै परीक्षणको दायरा बढाउनुपर्ने जरुरी छ ।’ आयात–निर्यातकर्ता व्यवसायीहरूको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले पनि लकडाउन खुुकुलो गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न दिन माग गरेको छ । संघले सुरक्षाका उपाय अपनाएर लकडाउन खुकुलो बनाउन माग गरेको छ ।
बढ्दो लकडाउनका कारण नेपालमा बेरोजगारीका समस्या बढ्दै गएको छ । रोजगारदाता पनि टाट पल्टिने अवस्थामा पुगेका छन् । त्यसैले लकडाउनबारे पुनर्विचार गर्न आवश्यक रहेको संघको भनाइ छ । नेपाल विद्युत् व्यवसायी महासंघले पनि लकडाउनबारे गम्भीर रूपमा पुनर्विचार गर्न माग गरेको छ । कोरोना भाइरस नियन्त्रण हुने निश्चित समय किटान नभएको अवस्थामा लकडाउनको मोडालिटी परिवर्तन गर्दै संवेदनशील बाहेकका क्षेत्र खुकुलो पार्दै लैजानुपर्ने महासंघको भनाइ छ ।
‘विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगहरूबाट न्यून क्षमतामा उत्पादन गरिए तापनि बजार, पसल नखुलेकाले उत्पादित सामग्री उपभोक्ता समक्ष पुर्याउन सकिएको छैन,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।