माप्य- खुम्बु मितेरी ट्रष्ट ब्रीज’ -राजनीतिक नेतृत्वको दृढ इच्छाशक्तिको ज्वलन्त उदाहरण-
सोलुखुम्बु, १७ जेठ। प्रशस्त बजेट बिनियोजन भएर पनि मुलुकभरका कतिपय बिकास आयोजनाहरु बर्षौं देखि अलपत्र छन।ती बिकास आयोजनाहरु समयमै सम्पन्न गर्न न त सरकारले चासो देखाएको छ,न त ठेकेदार कम्पनीले समयमै आफ्नो दायित्व पूरा गर्छन् ।यसले उसलाई र उसले उसलाई दोषी देखाएर आफू पानी माथिको ओभानो बन्ने संस्कार हाम्रो पुरानै रोग हो।तर राजनीतिक नेतृत्व र सरोकारवालाहरु ईमानदार ढंगले लाग्ने हो भने कुनै पनि काम समयमै सम्पन्न गर्न असम्भव छैन भन्ने ताजा उदाहरण बनेको छ, दुर्गम जिल्ला सोलुखुम्बुको पनि अति बिकट मानिने माप्य-खुम्बु मितेरी ट्रष्टको निर्माण ।
जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकालाई जोड्ने ओर्लाङघाटस्थित दुधकोशी नदिमा निर्माण गरिएको मोटरेबल पुल निर्माणकार्यको थालनी गत मंसिरमा गरिएको थियो। संघीय संसद प्रतिनिधि सभाका सदस्य हेम कुमार राई ‘सुरबीर’, प्रदेश नं १ का सांसद बुद्धिकुमार राजभण्डारी,माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र खुम्बुपासाङ ल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले मंसिर १३ गते उद्घाटन गरेका थिए। त्यतिबेलै सो पुल बैशाख भित्र सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो।
माप्य दुधकोशी गाउँपालिकाले गौरबको आयोजनाका रुपमा लिएको सो पुल निर्माणलाई संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो प्रतिष्ठाको बिषय बनाएका कारण समयमै सम्पन्न भएको स्थानीयको भनाइ छ।
निर्माणकार्य सुरु भएको ६ महिनामा सम्पन्न भएको सो मोटरेबल ब्रिज निर्माणसँगै खुम्बु पासाङल्हामु र माप्य दुधकोशी गाउँपालिका क्षेत्रवाट सिधा सडक सञ्जालमा जोडिएको छ ।यो पुलको निर्माणले ती दुई गाबिसका बासिन्दामात्र नभए र सगरमाथा क्षेत्रमा जाने पर्यटकहरू समेत प्रत्यक्ष लाभान्वित हुने संघीय सांसद राइले बताए।पुल शिलान्यासका बेला गत मंसिरमा नै सांसद राइले बैशाखसम्ममा पुलको निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए।प्रदेश सांसद राजभण्डारीसंगै उनले डेढ महिना अघि मात्रै पनि निर्माण कार्यको अनुगमन गरेको बताइन्छ ।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन घोषणा गरेपछि समयमै निर्माण सम्पन्न हुनेमा स्थानीयको आशंका थियो।तर लकडाउनले पुल निर्माणमा पुर्याउन सक्ने अवरोध हटाउन सांसद राईले सहजीकरण गरेपछि काम गर्न सहज भएको निर्माण कम्पनीले जनाएको छ। पुल निर्माणको ठेक्का ८ करोड ८० लाख ३४ हजारमा जलप निर्माण कम्पनीले पाएको थियो।
संघिय सांसद राईले याे पुल निर्माण गर्न सांसद क्षेत्र बिकास काेष ( स्थानिय बिकास साझेदार कार्यक्रम ) काे १ कराेड रकम बिनियाेजन गरेका थिए ।त्यसैगरी माप्यदुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाले ३।३ करोड र प्रदेश १ सरकारले २ करोड रुपैयाँ बिनियोजन गरेका थिए।
माप्य -खुम्बु गाउँपालिको लाइफलाइनका रुपमा लिइएको मितेरी ट्रष्ट ब्रिज यस क्षेत्रको आर्थिक बिकासका लागि कोशेढुंगा साबित हुने अपेक्षा स्थानीयले गरेका छन।यो पुलको निर्माणले सोलुखुम्बुको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुर्याउने माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए ।अध्यक्ष राइले पुल निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने संघीय सांसद राई,प्रदेश सांसद राजभण्डारी , उत्तम बस्नेत र निर्माण कम्पनी जलपसहित सम्बद्द सम्बद्ध सबै पक्षलाई धन्यवादसमेत दिएका छन।