अमेरिकामा रहेका ८ युवाले सुरु गरे- ‘नेपालका लागि प्रबासी नेपालीहरुको अभियान-२०२०’



काठमाडौं । अमेरिकामा बसेका नेपालीहरुले नेपालको सीमा व्यवस्थित गर्न अभियान नै चलाउने भएका छन् । भारतले पटकपटक नेपालको सीमामाथि आक्रमण गर्दै आएकोमा आपत्ति जनाउँदै उनीहरुले सो अभियान चलाउन लागेको बताइएको छ।

नेपालका लागि प्रबासी नेपाली अभियान-2020 गठन गरेर उनीहरुले सीमा व्यवस्थित गर्न आवश्यक परेको खण्डमा प्रवासमा रहेका नेपालीहरुले प्रशस्तै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले त्यसका लागि आफूहरुले आर्थिक संकलन गर्न जस्तोसुकै अभियान पनि चलाउने जनाएका छन् । नेपालको सीमामाथि भारतले गरेको आक्रमण निन्दनीय र खेदजनक भएको उनीहरुको टिप्पणी छ ।

अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष तथा २०५५ सालमा कालापानी मार्च टोलीमा पुगेका सदस्य थोमस बाँस्तोला, बीबीसी साझा सवालका पूर्व पत्रकार म्यासाच्युसेट्सका नारायण श्रेष्ठ, पेन्सलभेनियाका सामाजिक अभियन्ता शंकर पन्त, एन्आर्एन्ए आइसीसी मेम्बर तथा तत्कालीन कालापानी मार्चका अभियन्ता पुरुषोत्तम बोहरा, केन्टकी सामाजिक अभियन्ता हेमन्त भेटवाल, प्राविधिक विद्यार्थी संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष विजय भटराई, केन्टकीका पत्रकार किशोर सापकोटा तथा भर्जिनियाका अन्तर्राष्टिय नीति विज्ञ तथा दलित गैर सरकारी संस्था महासंघका पूर्व अध्यक्ष डिवी सागरलगायतले अभियान नै चलाएका हुन । उनीहरूले सरकारले वार्ता र छलफलका माध्यमबाट नेपालको भूमि फिर्ता लिनुपर्नेमा जोड दिएका छन् । कालापानी, लिपुलेक र कालापानी नेपालको भूमि रहेको धेरै प्रमाण भए पनि भारतले देखाएको हेपाहा प्रवृति बढेकाले जुनसुकै ढंगले पनि नेपाली भूमि फिर्ता ल्याउनुपर्ने नेपाल र नेपालीको वाध्यता भएको उनीहरुले जनाएका छन् ।

अभियानले हालै बिज्ञप्ति प्रकाशित गर्दै वार्ता र छलफलका माध्यमबाट सिमा विवाद मिलाउनुपर्ने र आवश्यक परे चीनको पनि सहयोग पनि नेपाल सरकारलाई सुझाएको छ। दुवै देशका विज्ञको सहभागिता रहेको समिति गठन गरी कुटनैतिक माध्यमबाट पनि विवादको टुंगो नलागे अन्तर्राष्टिय अदालतसम्म पुगेर भएपनि आफ्नो भूमि फिर्ता लिनुपर्नेमा अभियानले जोड दिएको छ। साझा अभियानाका लागि सम्पूर्ण नेपालीलाई एकजुट पार्न पहल गर्ने प्रतिवद्धता पनि अभियानले जनाएको छ।

अभियानका एक अभियन्ता अनेरास्ववियुका पूर्ब उपाध्यक्ष थोमस बास्तोलाले सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धी अनुसार पनि कालापानी नेपालकै भूमि भएकोले भारतले दावी गर्न नमिल्ने बताए । भारतले कालापानीमा १९६२ देखि कालापानीमा भारतीय सैनिक राखेकाले तत्काल भारतीय सुरक्षाकर्मी फिर्ता गर्नु पर्ने उनको भनाइ छ। नेपाल सरकारले आफ्नो भूमि समेटेर नेपालको नक्सा सार्वजनिक गर्नु स्वागतयोग्य भएको भन्दै बास्तोलालेअब भूमि फिर्ता लिन सबै राजनीतिक दल, नागरिक समाज तथा सबै नेपालीहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्