झापामा फेरी पनि नेपाली सुरक्षाकर्मीमाथि भारतीयको आक्रमण



भद्रपुर ९ जेठ । झापाको सिमा क्षेत्रमा आज फेरी भारतीय नागरिकले सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन । कोरोना भाइरसको उच्च जोखिममा रहेको दक्षिणी झापाको कचनकवलमा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मी माथि आक्रमण गरेका हुन ।
नेपाली भूमिमा प्रवेश गरेका भारतीय नागरिकलाई सीमा तैनाथ सशस्त्र प्रहरीले रोक्न खोज्दा उनीहरूले आक्रमण गरेका हुन्। भारतीय नागरिकले सशस्त्र प्रहरी हवल्दार शंकर चौधरीलाई कुटपिट गरेका हुन्।

कचनकवल गाउँपालिका– १ घेराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्वमा रहेको १२२ नम्बर पिलर नजिकै सशस्त्रको अस्थायी पोस्टमा राखिएको छ। पोस्टमा सशस्त्रका हवल्दार चौधरीसहित पाँच जना खटिएका थिए । सीमा पारी भारतीय भुमीमा गिलावारी बस्ती पर्छ। त्यहाँका ५ र ७ जना भारतीय नागरिक शुक्रबार बिहान साढे ९ बजे नेपाली भूमिमै आएर घाँस काटेर फर्किन लाग्दा सशस्त्र प्रहरीले सीमामै रोकेर उनीहरूलाई नेपाल प्रवेश नगर्नू भनी सम्झाउन खोजेका थिए।
किन सम्झाएको भन्दै भारतीय नागरिकले सशस्त्र प्रहरीलाई गालीगलौज गर्दै एक्कासि बाँसको भाटाले सशस्त्रका हवल्दार चौधरीको टाउकोमा प्रहार गरेका थिए। सोही क्रममा दुवै पक्षबीच सामान्य झडप भएको थियो। पछि थप ५० देखि ६० जना भारतीय नागरिकको हुल आएर आक्रमण गरेका गाउँपालिका ३ नम्बर वडा अध्यक्ष विजय राजवंशीले जानकारी दिए। उनका अनुसार भारतीय नागरिकले सशस्त्रका हवल्दार चौधरीलाई बाँसले प्रहार गरी कुटपिट गर्दा उनको हात र टाउकोमा चोट लागेको छ।

‘भारतीय नागरिकले फेरि सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि तीन सय बढी नेपाली नागरिक प्रतिकार गर्न सीमामा पुगेका थियो,’ उनले भने, ‘हामी सीमा पुगेपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए। आज पनि सीमा ठूलो घटना हुन पाएन, घटना हुने बित्तिकै थप नेपाली सुरक्षाकर्मी घटनास्थल पुग्नुका साथै भारतीय एसएसबी पनि आइपुगेका थिए।’ घटनापश्चात् नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी, जनप्रतिनिधिसहितको दशगजामा बैठक बसी आइन्दा फेरि यस्तो घटना नदोहोरिने भारतीय पक्षले प्रतिबद्धता जनाएको वडाध्यक्ष राजवंशीले बताए।

जेठ ३ गते बेलुका पनि गाउँपालिका १ घेरावारीस्थित १२५र१० नम्बर पिलरको सुरिभिट्टा—झण्टुबस्ती नजिकैको अस्थायी सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकको जत्थाले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए। भारतीय नागरिकको आक्रमणपछि गाउँवासीसहित सशस्त्र प्रहरी प्रतिकार उत्रिएका थिए।

प्रतिक्रिया दिनुहोस्